- विश्वराज अधिकारी
कानून सबैको लागि बराबर
अमेरिकामा कानून सबैको लागि बराबर छ । राष्ट्रपति र एक सामान्य नागरिकको लागि लागू हुने कानूनमा कुनै अन्तर वा भेदभाव हुँदैन । कुनै व्यक्तिको पद, प्रतिष्ठा, प्रसिद्धि र पैसाले ऊमाथि कानून लागू गर्ने कार्यलाई कुनै पनि किसिमले प्रभाव पार्न सक्तैन । यो तथ्य अमेरिकामा व्यवहारद्वारा नै देखिएको हो, भनाइ मात्र होइन । अमेरिकी इतिहासले त्यस्तो भन्छ ।
अमेरिकामा, अमेरिकी संविधान सबै नागरिकभन्दा माथि छ, अमेरिकामा संविधानभन्दा माथि कोही पनि छैन । संविधानभन्दा माथि कोही छ भने त्यो अमेरिकाको संविधान नै हो ।
अमेरिकाको संविधानलाई संसारकै पुरानो संविधानमध्ये एक मानिन्छ । अमेरिकाको संविधान सन् १७८७ मा लेखिएको थियो । सन् १७८८ मा स्वीकृत (Ratified) भएको थियो । र सन् १७८९ देखि लागू भएको थियो । सन् १७८९ मा लागू भएको संविधानले नै अहिलेसम्म निरन्तरता पाएको छ । यो कारणले गर्दा, संसारभरिमंै, एउटै संविधान लामो समयसम्म लागू हुने संविधानमध्ये अमेरिकाको संविधान दोस्रो हुन पुगेको छ । पहिलो भने सान मारिनोको संविधान हुन पुगेको छ । सान मारिनोको संविधान सन् १६०० मा लागू भएको थियो ।
संसारका दश पुराना संविधानहरू, पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौं, सातौं, आठौं, नबौं र दशौं क्रमशः सान मारिनो, अमेरिका, पोलैन्ड (१७९१), नर्वे (१८१४), निदरलैन्ड्स (१८१४), बेल्जियम (१८३१), लक्जेमबर्ग (१८४१), स्विट्जरलैन्ड (१८४८), डेनमार्क (१८४९) र क्यानाडा (१८६७) रहेको पाइन्छ ।
अमेरिकामा कानून सबैको लागि समान हुने र देशको कानूनले बहालवाला राष्ट्रपतिलाई पनि नछोड्ने तथ्यको इतिहास पुरानो छ । यो घटना सन् १८७२ को हो । अमेरिकी राष्ट्रपति युलिसेस ग्रान्ट घोडाले तान्ने बग्गीमा चढेर कतै जाँदै थिए । उनको बग्गी वाशिंगटन डिसीको सडकमा थियो । तर उनको बग्गीको गति तोकिएको गतिभन्दा बढी थियो । तोकिएभन्दा बढी गतिमा बग्गी चलाएको भनेर प्रहरीले उनलाई समात्यो । समात्ने प्रहरीको नाम थियो विलियम हेनरी वेस्ट । त्यस दिन प्रहरी अधिकृतले राष्ट्रपति ग्रान्टलाई चेतावनी दिएर छाडिदिए । त्यो घटना भएलगत्तै प्रहरी अधिकृत विलियम हेनरी वेस्टले राष्ट्रपति ग्रान्टलाई पुनः तोकिएभन्दा बढी गतिमा बग्गी चलाइरहेको अवस्थामा समाते । योपटक भने विलियम हेनरी वेस्टले राष्ट्रपति ग्रान्टलाई गिरफ्तार गरे । ग्रान्ट अमेरिकाको इतिहासमा नियम उल्लङ्घन गरेकोमा गिरफ्तार हुने पहिलो वहालवाला राष्ट्रपति थिए । प्रहरी अधिकृतले निर्भीक भएर, आत्मविश्वासका साथ त्यो काम गरेका थिए र राष्ट्रपतिलाई भनेका थिए–‘तपाईं देशको प्रमुख हो र म केवल एक प्रहरी हुँ, तर मैले आफ्नो ‘ड्युटी’ गर्नुपर्छ । तपाईंलाई गिरफ्तार गर्नुपर्छ ।’
मङ्कलवार, अप्रिल ४, २०२३ का दिन, यो सामग्री तयार पारिरहँदा अमेरिकाको राष्ट्रपतिको इतिहासमा पहिलोपटक एक पूर्व राष्ट्रपतिलाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ । दिउँसोको समयमा, अदालतको आदेश अनुसार, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क राज्यको एक अदालतमा उपस्थित भएका छन् । उनीमाथि लगाएको अभियोग सुनाउन उनलाई न्युयोर्क राज्यको न्युयोर्क सिटीको मेनहेट्नस्थित ‘मेनहेट्न क्रिमिनल कोर्टहाउसमा उपस्थित हुन आदेश दिइएको थियो । ट्रम्पमाथि ३४ वटा अभियोग (Charges) लगाइएको छ । उनले ३४ वटा अपराध गरेको भनिएको छ । ट्रम्पमाथि न्युयोर्क राज्यको कानून (Article 175 of the New York Penal Law) अनुसार मुद्दा चलाएको हो । झूटा व्यापारिक विवरण (“alsifying Business Records) पेश गरेको, एक वयस्क फिल्म कलाकार स्टोर्मी डानिएल्सलाई, जोसँग ट्रम्पको सम्बन्ध रहेको भनिएको थियो, उनको मुख बन्द गर्न रकम (Hush Money) दिएको आदि अभियोग ट्रम्प माथि लगाइएको छ । ट्रम्पमाथि लगाइएको अभियोग प्रमाणित भएर उनले अपराध गरेको ठहर भएमा उनले प्रत्येक अपराध (जम्मा ३४) को लागि चार चार वर्ष जेल बस्नुपर्ने हुन्छ ।
ट्रम्पको मुद्दा किन महत्वपूर्ण हुन पुग्यो?
पूर्व राष्ट्रपति ट्रम्पका समर्थकहरूको सङ्ख्या धेरै भए तापनि, उनलाई कारबाई नगर्न जनदबाब पर्न सक्ने भए तापनि, अमेरिकी कानूनले न्याय गर्ने र दोषी कसैलाई नछाड्ने यथार्थमा अमेरिका अडिट रहने तथ्य प्रस्ट पार्न पनि यो मुद्दा महत्वपूर्ण हुन पुगेको थियो ।
वर्तमान राष्ट्रपति जो बाइडेन वा उनको दल (डेमोक्रेटिक) ले कुनै किसिमको रिस साध्न यदि (शड्ढा वा सम्भावना) मा यस्तो गरेको भए तापनि अमेरिकाको अदालत र न्याय प्रणालीले कुनै व्यक्ति वा संस्थाको दबाबमा परेर निर्णय नगर्ने र स्वतन्त्ररूपले काम गर्न सक्षम रहेको यथार्थ संसारलाई देखाउन पनि यो मुद्दा अमेरिकी समाजमा महत्वपूर्ण हुन पुगेको थियो ।
कसैमाथि झूटा आरोप (पूर्व राष्ट्रपति ट्रम्पमाथि) लगाउँँदैमा ऊमाथि कारबाई नगर्ने र झूटो आरोप लागेको व्यक्तिको आरोपमा गहिरो छानबीन गरी, सत्यको आधारमा र निष्पक्ष भएर अमेरिकी अदालतले निर्णय गर्ने र न्याय दिने भनी संसारलाई देखाउन पनि यो मुद्दा महत्वपूर्ण हुन पुगेको थियो ।