बलिराम शुक्ला, बिरुवागुठी, ७ साउन/

ग्रामीण भेगमा असारको पहिलो साता किसानले रोपेको धानबालीमा गबारो कीराको प्रकोप देखिएको छ । पर्सागढी, सखुवाप्रसौनी र पटेर्वासुगौली गापाको धानबालीमा गबारो कीराको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् ।

धान रोपेको एक महीना पुग्न लाग्दा यसपालि चाँडै गबारोको प्रकोप देखिएको र कीराले धानको गुबा खाएपछि धानका पात तथा गुबाहरू सुक्न थालेको पर्सागढीका किसान देवीराम ढकालले बताए । उनले गबारोको कारण धानको उत्पादन कम हुने भन्दै चिन्ता जाहेर गरे ।

पर्सागढी नपाका कृषि प्राविधिक खड्कबहादुर खत्रीले धानबालीमा गाज हाल्ने समय भएको तथा बादल लाग्ने भइरहेको कारण यस्तो अवस्थामा गबारो कीराको प्रकोप देखिएको बताए । उनले गबारो कीरा निर्मूल गर्न धानबालीमा छिपछिपे पानी जमाइ कारटाप हाइड्रोक्लोराइड ४५ जिआर वा फिप्रोनिल ३५ जिआर (५०० ग्राम) प्रतिकट्ठाको दरले बालुवामा मिसाइ छर्नुपर्ने बताए । विषादी छरेपछि चार दिनसम्म खेतको पानी बग्न नदिन उनले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here