प्रस, वीरगंज, ६ साउन/
वीरगंज महानगरपालिकामा केही महीनादेखि देखिएको खानेपानीको समस्या यथावत् छ । महानगरभित्रका अधिकांश वडामा खानेपानीको हाहाकार मचिएको छ । नगरवासीहरू खानेपानीको व्यवस्था गर्न अहिले दिनरात व्यस्त हुने गरेका छन् । वैशाखमा महानगरमा खानेपानीको समस्या भएको समाचार प्रकाशमा आएपछि महानगरले पानीको समस्या समाधान गर्ने दाबी गरेको थियो । यसका लागि महानगरले नीति, नियम तथा खानेपानी संस्थानसँग मिलेर समस्या समाधान गर्ने दाबी गरेको थियो ।
महानगरले वडास्तरमा निश्शुल्क धारा जडान गर्ने घोषणासमेत गर्यो । तर महानगरवासीको समस्या समाधान नगर्दा खानेपानीको झनै हाहाकार भएको नगरवासीले आरोप लगाएका छन् । वीरगंज–१३ राधेमाईका विनोद यादवका अनुसार टोलका करीब डेढ सय चापाकल सुक्दा टोलवासीलाई समस्या भएको छ । “अहिले टोलवासीहरू रात्रिको समय पानीको जोहो गर्न घुमिरहेका छन्, राति चापाकलमा पानी आउँछ भनी मोटर चलाएर पानी भण्डारणमा खटिरहेका छन्,” उनले भने, “बिहान चर्पी र बाथरूममा पानी नभएर निकै समस्याको सामना गर्नुपरेको छ, पिउने पानीको त कुरै छाडौं । जोसँग पैसा छैन, उनीहरू अरू वडामा पानी खोज्दै हिंडेका छन् भने पैसा हुनेहरूले बोतलको पानी किनेर उपभोग गरिरहेका छन् ।”
वीरगंजको मुर्ली, राधेमाई, तेजारथ टोल, अलौं, सुगौलीबिर्ता, श्रीसिया, लिपनीबिर्ता, भवानीपुर, रामगढवा, मनियारी, लक्ष्मनवा, बसपार्क, छपकैया, श्रीपुर, आदर्शनगर, घडीअर्वालगायत अधिकांश शहरी वडामा पानीको समस्या उत्पन्न भएको छ ।
पानीको समस्या समाधानका लागि वीरगंज महानगरले टोलटोलमा ट्याड्ढरबाट पानी आपूर्ति गर्न शुरू गरेको छ । साथै, पानीको समस्या दिगोरूपमा समाधानका लागि अनधिकृत डीप बोरिङलाई महानगरले रोक लगाउँदै सबै वडाका सार्वजनिक स्थानमा सामूहिक डीप बोरिङ गर्ने तयारी गरेको महानगरले जनाएको छ ।
महानगरले खानेपानी संस्थान, वीरगंजसँग सहकार्य गरी केही वडाका सार्वजनिक स्थानमा धारा जडान गर्ने तयारी गरेको वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।
खानेपानी संस्थानलाई धौधौ
खानेपानी संस्थानको धारा जडानका लागि नगरवासीको धेरै निवेदन परेपछि अहिले संस्थानलाई धारा जडान गर्न धौधौ परेको छ ।
खानेपानी संस्थानका प्राविधिक इन्द्रराज पाण्डेले वीरगंज कार्यालयमा अहिलेसम्म करीब छ सय निवेदन दर्ता भएको बताए । उनले सोमध्ये ४५० वटा धारा वैशाख, जेठ र असारसम्म जडान भइसकेको बताए । जनशक्ति अभाव भएपनि आफूहरूले काम गरिरहेको पाण्डेले बताए ।
खानेपानीको पाइप पुगेको ठाउँको मात्र निवेदन लिइरहेको बताउँदै पाण्डेले महानगरका धेरैजसो टोलमा खानेपानीको पाइप नपुगेको बताए ।
त्यस्तै, खानेपानी संस्थानको कार्यालयमा धारा जडानको लागि रु आठ हजार ४१० दस्तुर तथा अन्य सरसामान गरी एउटा धारा जडान लिन रु २० हजारसम्म तिर्नुपर्छ ।
भूमिगत पानीको सतह बढाउन गर्नुपर्छ यी काम
अत्यधिक गर्मी बढेसंगै तराई–मधेसका जिल्लामा खानेपानी अभावको समस्यालाई दिगोरूपमा कम गर्न दिगो योजना बनाएर काम गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ । भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन, पर्साका प्रमुख विकास ठाकुरले जमीनमुनिको पानी सञ्चितिको लागि सबैभन्दा मुख्य कुरा पानीको अनावश्यक खर्च बन्द गर्नु जरुरी रहेको बताए । भूजलविद् (हाइड्रोजियोलोस्जिट)समेत रहेका प्रमुख ठाकुरले तराई–मधेसमा पानी सञ्चित गर्ने मुख्य मुहान चुरे क्षेत्र भएकोले त्यहाँ नदीजन्य पदार्थको अवैध उत्खननलाई कडाइ गर्दै नियन्त्रण गर्नुपर्ने सुझाव दिए । आफ्नो धाराको पानीलाई पुनः जमीनभित्र पठाउन हौदा (धारानजीकै खाल्डो खनेर पानी जमीनमा सोस्न लगाउने खाल्डो) खन्ने, अनधिकृत डीप बोरिङमा प्रतिबन्ध लगाउने, वर्षात्को पानीलाई जम्मा पार्ने योजना अघि बढाउने, वृक्षारोपणमा तीव्रता दिने जस्ता कार्यले जमीनमुनिको पानीको सतहलाई बढाउन सकिने उपाय बताए ।