प्रस, परवानीपुर, ६ साउन/
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल, बाराले शनिवार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालको हितमा भन्दा पनि भारतको इच्छा पूरा गरिदिने कडी बनेको आरोप लगाए ।
उनले प्रम प्रचण्डको भारत भ्रमणबाट भारतले चाहेका जलविद्युत् आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भएको आरोप लगाए । भारतले २७ वर्षदेखि अलपत्र पारेर राखेको माथिल्लो कर्णालीको सम्बन्धमा कुनै संवाद नगरी थप दुईवटा आयोजना पुनः जिम्मा लगाएको उनले बताए ।
भ्रष्टाचार नियन्त्रणको विषयमा सरकारले पछिल्लो समय स्टन्टबाजी गरिरहेको उनले आरोप लगाए । उनले भने– सरकार आफ्नै शरीरमा फोहोर बोकेर अरूलाई सफा गर्न हिंडिरहेको छ, पहिला आफू सफा हुनुप¥यो । उनले अनियमितता र भ्रष्टाचारका प्रकरणमा नाम जोडिएका नेतालाई सहयात्री बनाएर हिंडिरहेको सरकारले निष्पक्ष छानबीन गर्छ भन्ने लाग्दैन भनी ठोकुवा गरे ।
भ्रष्टाचारका मुद्दामा जोडिंदा निष्पक्ष छानबीन गर्नुपर्ने भन्दै नेता ज्ञवालीले पूर्वाग्रही ढङ्गबाट गरिने छानबीनले निकास नदिने जिकिर गरे । ठूला प्रकरणका निर्णयकर्ता सत्ताको सहयात्री बनाउने र दुई÷चार जनालाई पक्राउ गरेर जनतामा भ्रम छर्ने काम प्रचारबाजी मात्र भएको उनको आरोप थियो ।
नेता ज्ञवालीले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको विषय, पछिल्लो सुनकाण्डमा सरकारमा रहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा प्रकाश जोडिएर आएको छ, यस विषयमा सरकारले निष्पक्ष छानबीन गर्नुपर्ने बताए ।
कार्यक्रममा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेस सरकार र मधेसका स्थानीय तहहरूमा बढी रकम अपचलन भएको देखिएकाले सोको नियन्त्रण गर्न एमालेले पहल गर्ने बताए । मधेसको विकास र समृद्धिका लागि एमालेले जागरूक गर्ने अभियान शुरू गरेको उनले बताए ।
प्रेस चौतारी, बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एवं पार्टी स्कूल संयोजक पुरुषोत्तम पौडेल, पोलिटब्युरो सदस्य एवं विषयविज्ञ प्रशिक्षक ईश्वरी रिजाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण अनिल गौरवले गरेका थिए ।