प्रस, वीरगंज, ५ साउन/
वीरगंज महानगरपालिकाले युवा पत्रकार स्व नरेश सर्राफको छोरीको पठनपाठन, भरणपोषणका लागि र स्व नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कारको लागि १५ लाख राशि उपलब्ध गराएको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले पत्रकार सर्राफको स्मृतिमा स्थापना गरेको स्व नरेश सर्राफ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारको अक्षयकोषको लागि रु १० लाख उपलब्ध गराएको छ । नगरप्रमुख राजेशमान सिंहको उपस्थितिमा सांसद प्रदीप यादवले पर्सा शाखा अध्यक्ष अनुप तिवारीलाई सो रकम बराबरको चेक शुक्रवार हस्तान्तरण गरे ।
यसैगरी, स्व सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरणपोषणका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । श्रेयालाई सांसद प्रदीप यादव र नगरप्रमुख सिंहले चेक हस्तान्तरण गरेका थिए । सांसद यादवले स्व सर्राफको परिवारलाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
यसैगरी, नगरप्रमुख सिंहले स्व सर्राफको निधनपश्चात् परिवारको बिचल्ली नहोस् भनेर आफूले हरसम्भव सहयोग गरेको र आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने आश्वासन दिए । कार्यक्रममा नगरप्रमुखका प्रेस सल्लाहकार महेश दास, पत्रकार महासङ्घ, पर्साका कोषाध्यक्ष सञ्जीव मिश्र र नगरप्रमुखका सचिवालय सल्लाहकार सत्यराज घिमिरेलगायतको सहभागिता थियो ।