• राजेश मिश्र

‘बोलबम…बोलबम’ साउनको पावन महीनामा यो सुमधुर ध्वनि सुन्न पाइन्छ । साउन मास महादेवको महीना हो । त्यस कारण शिवलिङ्गमा जल-दुग्ध अर्पण गर्नको लागि शिवालयहरूमा भक्तजनको भीड लाग्छ । पर्सा जिल्लाका विभिन्न स्थानमा अनेकौं ऐतिहासिक शिवालयहरू छन् । त्यसमध्ये पर्सा जिल्लाको पोखरिया नपा वडा नं ४ स्थित शिवमन्दिर पनि एक हो ।

धार्मिक मठमन्दिरप्रति श्रद्धालुजनको आस्था र भक्तिभङ्गिमा शब्दमार्फत वर्णन गरेर साध्य छैन । मठमन्दिर सार्वजनिक/सरकारी सम्पत्ति हो । त्यस कारण धार्मिकस्थलहरूको संरक्षण र संवद्र्धन गर्नु तीनै तहका सरकार तथा नागरिक समाजको परम कर्तव्य हो ।

श्रद्धालुहरू मठमन्दिरको नाममा जग्गा अर्पण गर्छन् । निष्ठापूर्ण भावले मठमन्दिरको निर्माण गर्छन् । मठमन्दिर तथा शिक्षालयहरूको नाममा सम्पत्ति अर्पण गर्ने मानिसहरूको समाजमा कमी छैन । यद्यपि मानिसहरूकै बीचमा मानिसजस्तै देखिने अमानवहरू पनि छन्, जो मानवको नाममा कलङ्क छन् । एक ड्रम शुद्ध तोरीको तेललाई केही बुँद मटीतेलले अशुद्ध मात्र पार्दैन, अपितु मानव शरीरको लागि हानिकारक हुन सक्छ । त्यस कारण अमानवीय मनोवृत्तिको छिटा समाजमा किंमार्थ पर्न दिनुहुन्न ।

पुजारीले शिवमन्दिरको सम्पत्तिमा कुनियतपूर्ण हर्कत गर्नु घोर निन्दनीय कार्य हो । पाठकहरूलाई के अनौठो लाग्न सक्छ भने भोलेनाथको पूजापाठमा समर्पित पुजारीले दाताले अर्पण गरेको सम्पत्ति हडप्ने कसरी दुस्साहस गर्यो ? यसै सेरोफेरोमा पोखरिया नपा वडा नं ४ अवस्थित शिवमन्दिरको कथा–व्यथा आजको आलेखमा समेटिएको छ । उक्त शिवमन्दिरको दाता परिवार तथा स्थानीय मानिसहरूसँग भएको साक्षात्कारका साथै सर्वोच्च आदालतको फैसलाकोे आधारमा आजको आलेखमा सर्वप्रथम सर्वोच्च अदालतको फैसला तथा त्यसपछि अन्य विषयवस्तु क्रमशः प्रस्तुत गरिनेछ ।

धार्मात्माहरूले भगवान्को चरणमा अर्पण गरेको सम्पत्तिमाथि कुलषित प्रवृत्तिका पात्रहरूको आँखा लाग्न बेर लाग्दैन । उनीहरूले सार्वजनिक सम्पत्ति लिने खाने उद्देश्यले कानूनी दाउपेच खोज्दै शक्ति, समय र पैसा खर्च गर्न पछि पर्दैनन् । यसैमध्येको एक उदाहरण हुन्, पोखरिया शिवमन्दिरका पुजारी मुक्ति गिरी अथित ।

पर्सा जिल्लाको तत्कालीन बिरञ्चीबर्वा गाविस वडा नं ९ टोल सेमराका मोहन साह कानूका पिता जनक साह कानू पोखरिया नपा–४ स्थित शिवमन्दिर तथा सोसँग सम्बन्धित सम्पत्तिका दाता हुन् । शिवमन्दिरको सम्पत्तिमाथि पुजारी मुक्ति गिरी अथितले कसरी आँखा लगाए भन्ने कुरा सर्वोच्च अदालतको निम्न फैसलाबाट अवगत हुन्छ । उक्त फैसलाको पूर्णपाठ सीमित शब्दमा आधारित आलेखमा समाविष्ट गर्न असमर्थ छु । तसर्थ बेहोरा अवगत हुने नै हुँदा केवल फैसलाको संक्षिप्त खण्ड समाविष्ट गरेको छु ।

फैसला
सर्वोच्च अदालत संयुक्त इजलास । माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ, माननीय न्यायाधीश श्री ताहिर अलि अन्सारी ।

संवत् २०६२ सालको दे.पु.नं………८४५९
मुद्दा : नापी निर्णय पर्चा बदर दर्ता ।

पर्सा जिल्ला गाविस पोखरिया वडा नं ४ बस्ने शिवजी अथित भन्ने मुक्ति गिरी अथित………………………! पुनरावेदक/प्रतिवादी
विरुद्ध
पर्सा जिल्ला गाविस बिरञ्चीबर्वा वडा नं ६ बस्ने मोहन साह कानू…………………….! प्रत्यर्थी/वादी
शुरू पर्सा जिल्ला अदालतमा फैसला गर्ने :– माननीय न्यायाधीश श्री बाबुराजा कार्की ।
पुनरावेदन अदालत हेटौंडामा फैसला गर्ने माननीय न्यायाधीशद्वय :– श्री कृष्णप्रसाद उपाध्याय, श्री अवधेशकुमार यादव ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पर्सा जिल्ला हरिहरपुर गाविस वडा नं ९ सा.कि.नं. ३६,३७ हालको कि.नं. ४९, ५० नापी भएको अवस्थामा विपक्षीको नाउँमा नापी भएको थाहा पाई उजूरी दिएको थिएँ । विपक्षीले शिवजी भन्ने कुनै व्यक्ति नभएको देखी सो नाउँ पनि आफ्नो नाउँ हो भनी शिवजी मन्दिरको जग्गा प्राप्त गर्ने प्रयास गर्नुभएको र सा.कि.नं. ५५, ५६, ५७ हाल कि.नं. ५२, ५३, ६६ को शिवजी मन्दिरकै जग्गालाई रामजानकी मठ पोखरियाको नाउँमा दर्ता गर्ने ठहर्याएको १ नं नापी गोश्वाराको निर्णय बदर गरी सबै कित्ता जग्गामा शिवजी मठमन्दिरको नाउँमा दर्ता गरी संरक्षकमा मेरो नाउँ उल्लेख गरी पाऊँ भन्ने मुख्य फिराद दाबी भएकोमा नापीको निर्णय बदर हुन सक्ने नहुँदा झूटा दाबीबाट फुर्सद गरी पाऊँ भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादी दाबी नपुग्ने ठहर्याएको शुरू पर्सा जिल्ला अदालतको फैसला उल्टी गरी दाबीका पाँच कित्ता जग्गा शिवजी मन्दिरको नाउँमा दर्ता कायम हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीले चित्त नबुझाईयस अदालतमा परेको प्रस्तुत पुनरावेदन यस इजलाससमक्ष निर्णयार्थ पेश भएको देखियो ।

यसमा वादी दाबी बमोजिम विवादित कित्ता जग्गाहरू शिवजी मन्दिरको नाममा दर्ता हुने हो होइन र पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिन आयो ।

निर्णयतर्फ विचार गर्दा सर्वप्रथम विवादित कित्ता जग्गाहरू के कुन स्रोतबाट हालको अवस्थामा आएका हुन् भनी हेर्नुपर्ने देखिन्छ । मिसिल संलग्न कागजात अध्ययन गर्दा मिति २००३ अषाढ १७ गतेको बन्डापत्रमा वादीका आमाहरूले केही जग्गा शिवजी भगवान्लाई अर्पण गरेको भन्ने उल्लेख भएको देखिन्छ भने गाउँ विकास समितिको कार्यालय, हरिहरपुर बिर्ता पर्साको च.नं. २० मिति २०५३/६/४ र सोही गाविसकै च.नं. २२ मिति २०५३/६/१३ को पत्रबाट समेत कि.नं. ३५, ३६, ५५, ५६, ५७ का जग्गाको श्रेस्ता अप्रमाणित रहेको र शिवजी मन्दिरको नाममा जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराइदिएमा कुनै फरक पर्नेछैन भन्नेसमेतको बेहोरा उल्लेख गर्दै मालपोत कार्यालय, पर्सामा सिफारिशपत्र पठाएको देखिन्छ । वादी दाबीका जग्गामध्ये कि.नं. ३६, ३७ को जग्गालाई नापीबाट म शिवजी गिरी भन्ने मुक्ति गिरीको नाममा कायम हुने ठहरेको ठीक साँचो हो भनी प्रतिवादीले लिएको प्रतिउत्तर जिकिरतर्फ हेर्दा निजले आफ्नो नाम शिवजी गिरी भन्ने मुक्ति गिरी अथित हो भनी गम्भीररूपमा प्रमाणित गर्ने कागजात पेश गर्न सकेको मिसिल संलग्न कागजातहरूबाट खुल्न आएको देखिंदैन । प्रतिवादीको नाम शिवजी हो भन्ने कुनै लिखित अभिलेखबाट देखिन आएको छैन । यस अवस्थामा जग्गाको श्रेस्ता अप्रमाणित नै रहेको देखिंदा साबिक कि.नं. ३६, ३७ हाल कायम कि.नं. ४९, ५० को जग्गा प्रतिवादीकै हो भनी पुष्टि हुन सकेको छैन ।

यसैगरी, बाँकी तीन कित्ता जग्गा सा.कि.नं. ५५, ५६, ५७ हाल कि.नं. क्रमशः ५२, ५३, ६६ को सम्बन्धमा अध्ययन गर्दा उपरोक्त जग्गाहरू नापीको समयमा रामजानकी मठका नाममा दर्ता भए तापनि सो दर्ता भूलबाट भएको हो । यथार्थमा उपरोक्त जग्गाहरू पनि शिवजी मन्दिरको हो भनी वादीले जिकिर लिएको पाइन्छ । यस सम्बन्धमा पुनरावेदन अदालत हेटौंडामा सो रामजानकी मठका संस्थापकका सन्तान भिखारी महतोले आफ्नो बयानको स.ज. ३ मा कि.नं. ५२, ५३ र ६६ का जग्गाहरू शिवमन्दिरको हकभोगको जग्गा हो भन्ने उल्लेख गरेको देखिन्छ । यसै क्रममा सोही रामजानकी मन्दिरकै पुजारी रामनाथ दास वैरागीसँग पनि पुनरावेदन अदालतले बुझ्दा निजले आफ्नो बयानको स.ज. ३ मा उपरोक्त तीन कित्ता जग्गा रामजानकी मठको नाउँमा दर्ता भएको जग्गा हो भने तापनि स.ज.४ मा उक्त जग्गाहरू के कसरी रामजानकी मठको नाउँमा दर्ता कायम हुन आयो सो सम्बन्धमा स्पष्ट पार्न सोधनी हुँदा हाल खुलाउन सक्तिनँ समय पाऊँ भनी बयान गरेको देखिन्छ । तर मिसिल संलग्न कागजातबाट निजले सो सम्बन्धमा ठोस प्रमाणसहित पुनः खुलासा गरेको भने पाइँदैन । यसर्थ मोहीले भूलबाट रामजानकी मठ लेखाए पनि सो जग्गा वास्तवमा त्यहाँ शिवमन्दिर नै रहे भएकोले शिवजी मठको जग्गा देखिन आउँछ ।

तसर्थ हरिहरपुर बिर्ता गाविसको पत्र तथा अ.ब. १३९ नं बमोजिम बुझिएका व्यक्तिहरूको बयानको आधारमा समेत विवादित कि.नं. ५२, ५३, ६६ समेतका जग्गामा वादी दाबी नपुग्ने ठहर गरेको शुरू पर्सा जिल्ला अदालतको फैसला उल्टी गरी सो जग्गाहरूमा शिवजी मठ पोखरियाको हक कायम भई दर्तासमेत हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ।

उक्त रायमा म सहमत छु –न्यायाधीश ।
इजलास अधिकृत : कृष्णप्रसाद सुवेदी । कम्प्युटर गर्ने : विश्वराज पोखरेल । इति संवत् २०६५ साल कात्तिक १० गते रोज ! शुभम् । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here