प्रस, वीरगंज, ४ साउन/
वीरगंज महानगरपालिकाले मुख्य नालामा बनेको क्लासिक होटल भत्काउने कार्यलाई बिहीवार पनि निरन्तरता दिएको छ।
गत मङ्गलवार साँझ सो संरचना भत्काउन महानगरले डोजरको प्रयोग शुरू गरेको थियो। क्लासिक होटल सञ्चालकमध्येका सफाकत अलीले पशुपति आदर्शनगर निर्माण समितिबाट पिताले नालामाथिको क्ष्Fेत्र खरीद गरेको र नगरपञ्चायतले नक्शापास गरेपछि घर निर्माण गरेको तर अहिले महानगरले विनासूचना डोजर लगाएर तोडफोड गरेको आरोप लगाए।
उनले महानगरले पहिलोपटक सूचना जारी गरी कागजात माग गर्दा सम्पूर्ण कागजात बुझाएको तर मङ्गलवार एक्कासि वैध संरचनामाथि दुई घण्टे सूचना जारी गरेर अवैध तरीकाबाट संरचना भत्काउने काम गरेको आरोप लगाए। महानगरपालिकाले बुधवार दिउँसो सूचना जारी गर्दै क्लासिक होटल र कर्पोरेट बैंकलाई साढे पाँच बजेसम्म संरचनामा रहेका सामानहरू हटाउन समयसीमा दिएको थियो।
कर्पोरेट बैंकले बैंकिङ कारोबारको विषयमा थप समय माग गर्दा भोलि शुक्रवारसम्मका लागि महानगरले समय दिएको थियो तर क्लासिक होटलमा भने बेलुकी साढे सात बजेदेखि डोजर लगाएर संरचना भत्काउने कार्य गरेको थियो। पाँचवटा एक्साभेटर, डोजर प्रयोग गरेर साढे सात बजेदेखि अबेर रातिसम्म संरचना भत्काउने कार्य गरेको थियो। सो कार्यलाई बिहीवार पनि निरन्तरता दिंदै संरचना भत्काउने र त्यहाँका भग्नावशेषलाई ओसार्ने काम गरेको छ। बिहीवार दिनभरि कर्पोरेट बैंकले भने भवन खाली गर्न शुरू गरेको छ। शुक्रवारसम्मको समयसीमा पाएको बैंकले आज सम्पूर्ण सामान हटाएको छ।
महानगरले कर्पोरेट बैंक रहेको भवन पनि नालामाथि भएको भनेर तोड्ने आदेश जारी गरेको छ। कर्पोरेट बैंक रहेको जग्गाधनी स्व शिवप्रसाद साहका सन्तानहरूले भने बुबाले बोलकबोलबाट २०२६ सालमा नालामाथिको क्षेत्र खरीद गरेको, २०३१ सालमा रजिस्टे«शन गरेको र नगरपालिकाबाटै घरनक्शा पास गरेर ५० वर्षदेखि भोग गर्दै आएकोमा अहिले आफैंले बिक्री गरेको, नक्शापास गरेको क्षेत्रलाई मुख्य नालामाथि भएको भनेर गैरकानूनी तरीकाले तोडफोड गर्ने चेतावनी दिएको आरोप लगाए।
महानगरपालिकाले भने नालामाथि बनेका संरचना सबै भत्काउने र त्यसमा कसैसँग सम्झौता नहुने बताउँदै आएको छ। जिल्ला हुलाक कार्यालयअगाडिदेखि शुरू भएको १० फिटे नाला गीता मन्दिरसम्म १० फिटमैं केन्द्रित छ भने त्यसपछि वीरगंज जेसीजदेखि हरि खेतान क्याम्पससम्म तत्कालीन पशुपतिनगर निर्माण समितिको नक्शा अनुसार ४० फिटको नाला कायम रहेको छ। हरि खेतानपछि चिल्डे«न पार्क हुँदै श्रीसिया नदीसम्म मुख्य नाला १० फिटकै छ। महानगरले अहिलेसम्म वीरगंज जेसीजबाट ४० फिट नाला सफाइ अभियान शुरू गरेको र पहिलो चरणमा राष्ट्रिय वाणिज्य बैंक, होटल रेसिडेन्सी र केडिया परिवार तथा हरि खेतान क्याम्पसद्वारा अतिक्रमित नालामाथिको संरचना भत्काएको थियो।