प्रस, परवानीपुर, २० असार/

वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी) भन्सारमा असार २० गतेसम्म एक हजार ७२८ वटा नयाँ सवारीसाधन होल्ड रहेका छन् ।

चालू आव २०७९/८० सकिन लाग्दा पनि ती गाडीहरू भन्सार जाँचपास नभएका कारण होल्ड भएका हुन् ।

आइसिपी व्यवस्थापन गर्ने निकाय नेपाल इन्टरमोडेल यातायात विकास समिति, वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार हालसम्म आइसिपी, वीरगंजमा एक हजार ७२८ वटा नयाँ सवारीसाधनमध्ये एक हजार २४५ वटा नयाँ गाडीका चेसिस मात्रै छन् भने विभिन्न कम्पनीका जीप, कार, भ्यान गरी ४८३ वटा होल्ड रहेका जानकारी दिए । उनले यदि यी सबै गाडी असार मसान्तसम्म जाँचपास भएमा इन्टरमोडेललाई रु ३३ करोड पार्किङ शुल्कबापत रकम प्राप्त हुने उनले बताए ।

भारत वा विदेशबाट गाडी आयात गरी आइसिपीमा प्रवेश गराउँदा २४ घण्टासम्म पार्किङ शुल्क लाग्दैन, त्यसपछि एक सातासम्म, एक महीनासम्म र त्यसपछि फरक–फरक समयावधिमा गाडी पार्किङ गरी होल्ड गर्दा प्रतिदिन अधिकतम रु ८३० पार्किङ शुल्कबापत तिर्नुपर्छ ।

त्यसैगरी, वीरगंज भन्सारको आइसिपीबाट ती गाडीहरू जाँचपास गरेर आयातकर्ताले लगेमा करीब रु १० अर्ब राजस्व उठ्ने आकलन गरिएको छ ।

वीरगंज भन्सारले पाएको लक्ष्य भेटाउन १० अर्बले सहयोग गर्ने विश्वास गरिएको थियो तर त्यसो हुन नसकेको वीरगंज भन्सारका अधिकारीहरूले बताएका छन् । वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भने, “हामीले रु १० अर्ब राजस्व मात्रै गाडीबाट उठ्छ भन्ने आकलन गरेका थियौं, व्यवसायीसँग पैसा भएन, बैंकले पनि कर्जा लगानी गरेन भन्छन्, यस्तो अवस्थामा असार मसान्त सक्न लाग्दा पनि जुन हिसाबले गाडीको जाँचपास हुनुपथ्र्यो हुन सकेन ।”

नयाँ सवारीसाधनको जाँचपासमा गाडी खरीद गरेको मूल्यमा भन्सार महसूल, अन्तःशुल्क, भ्याटलगायत अन्य राजस्व गरी तीन सय प्रतिशतसम्म राजस्व आयातकर्ताले तिर्नुपर्छ । सोही कारणले गाडीहरूको जाँचपास नभएको हो ।

एक हजार २४५ नयाँ बस, ट्रकको चेसिसमा टाटाको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिड्ढो मात्रै करीब एक हजार १०० गाडी होल्डमा छन् भने बाँकी भारी सवारीसाधनमा अशोक लेल्यान्ड, भारत बेन्चलगायत रहेका छन् ।

कारमा टोयोटा, हुन्डाई, निशान, रिनल्ट, फोर्डलगायतका जीप, कार, भ्यान जाँचपास नभएर होल्ड भएका छन् । टोयोटाको आयातकर्ता युनाइटेड ट्रेड सिन्डीकेट प्रालि, हुन्डाईको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सवारीसाधनमा बढी मात्रामा होल्ड छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here