एडेन, १५ असार/सिन्ह्वा

हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीवार दक्षिणी प्रान्त धलियामा चारजना यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिसियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको नाम नछाप्ने शर्तमा एकजना अधिकारीले बताएका छन् ।

उनले सो ड्रोन आक्रमणमा चारजना सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएका उल्लेख गरेका छन् । आक्रमणले सैन्य क्षेत्रलाई क्षति पुर्याएको र सशस्त्र गाडी पूर्णरूपमा नष्ट भएको पनि जानकारी दिएका छन् ।

अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूका अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिंदै आएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथीहरू अन्तर्राष्ट्रियरूपमा मान्यताप्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन ्।

संयुक्त राष्ट्रसङ्घले सन् २०२२ अप्रिलमा यमनमा मानवीय युद्धविरामको मध्यस्थता गरेको थियो । शुरूमा हिंसालाई उल्लेखनीयरूपमा घटाएर शान्तिपूर्ण समाधानको आशा पनि जगाएको थियो ।  तर गत वर्षको अक्टोबरमा युद्धविरामको म्याद सकिएपछि देशका विभिन्न क्षेत्रमा छिटपुट सशस्त्र भिडन्तहरू पुनः शुरू भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वको राजनीतिक समाधानका लागि मध्यस्थता गर्ने काम गरिरहेको छ तर युद्धरत पक्षहरूबीचको विश्वासको कमी र त्यहाँ जारी हिंसालगायतका कारण विगतका प्रयासहरू असफल भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here