• विश्वराज अधिकारी

कम्युनिस्टहरूको आँखनमा अमेरिका

अमेरिकालाई कम्युनिस्टहरूको आँखाले हेर्नु ठूलो भूल गर्नु हो । कम्युनिस्टहरूले भनेझैं अमेरिका न त साम्राज्यवादी हो, न त आफ्नै गरीब जनताको, न त विश्वका गरीब जनताको शोषण गर्ने घोर पूँजीवादी हो । उल्टो अमेरिकाले पूँजीवादको व्यावहारिक उपयोग आफ्नो जनताको सुख, सुविधा र सुरक्षा वृद्धिको लागि गरेको छ । सामाजिक सुरक्षाको व्यवस्था गरेर अमेरिकाले आफ्ना सामान्य नागरिक (सरकारी वा अर्धसरकारी कार्यालयमा काम नगरेका)हरूलाई पनि निवृत्तिभरणजस्तो प्रतिमहीना आर्थिक सहयोगस्वरूप भत्ता दिन्छ । तोकिएको उमेर पुगेकाहरूलाई औषधि र उपचार खर्च दिन्छ । यस किसिमको व्यवस्था गर्नु समाजवादी व्यवस्थाअनुरूप आफ्नो जनतालाई सेवा प्रदान गर्नु हो ।

कम्युनिस्टहरूले भनेझैं अमेरिकाले आफ्नो जनतालाई दुःख दिएको छैन । आफ्नो जनताको आर्थिक, सामाजिक एवं राजनीतिक शोषण गरेको छैन । अमेरिकाका नेताहरूले जनतामाथि तानाशाही गरेका छैनन् । यसैगरी, अमेरिकाले विश्वका अन्य राष्ट्रहरूमा पुगेर अनेक राष्ट्रका आन्तरिक मामिलामा हस्तक्षेप गरेर अनेक राष्ट्रलाई दुःख पनि दिएको छैन । यो यथार्थ कम्युनिस्ट नजरले भने देखिंदैन । उल्टो कम्युनिस्ट देशका शासकहरूले कम्युनिज्मको नाममा वर्षाैं शासन गरेका छन् । सत्ता र कुर्सी छाडेका छैनन् ।

अनेक देशहरूमा पुगेर अमेरिकाले दादागिरी देखाएको छैन भन्ने कुरा अमेरिका बसेपछि, यहाँको समाजलाई भोगेपछि, यहाँको राजनीति बेहोरेपछि थाहा हुन्छ । अमेरिकाभित्र बसेर अमेरिकालाई नभोगेसम्म यो तथ्य थाहा हुँदैन । तर यसको विपरीत केवल कम्युनिस्टहरूको कुरा सुन्ने हो भने अमेरिका साँच्चिकै दादा राष्ट्र लाग्छ । अरूको मामिलामा खुट्टा अड्काउने राष्ट्र लाग्छ । संसारलाई दुःख दिने राष्ट्र लाग्छ ।

अमेरिका साँच्चिकै दादा राष्ट्र भएको भए संसारभरिका मानिसहरू अमेरिका आउन मरिहत्ते गर्ने थिएनन् । अमेरिका आउने महान् सपना पाल्ने थिएनन् । यदि अमेरिकाले आफ्नो प्रवेशाज्ञा नीति अझै खुकुलो गर्ने हो भने अमेरिका प्रवेश गर्नेहरूको सङ्ख्या तेब्बर, चौब्बर हुनेछ । संसारको आधा जनसङ्ख्या अमेरिकामा आइपुग्नेछ । यो अतिरञ्जित कुरा होइन ।

कम्युनिस्टहरूको भनाइ अनुसार अमेरिका दादा राष्ट्र हुँदो हो त बर्सेनि हजारौं व्यक्तिले ज्यान नै जोखिममा राखेर गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने जोखिम लिने थिएनन् । गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने क्रममा ज्यान फाल्ने थिएनन् ।

कम्युनिस्टहरूले अमेरिकाको किन आलोचना गरेका होलान् ?

कम्युनिस्टहरूले एउटा कागजको बाघ बनाउँछन् । त्यो बाघ देखाएर गरीबहरूलाई ‘यो बाघले तपाईंहरूलाई खान्छ’ भनेर तर्साउँछन् । अर्थात् कम्युनिस्टहरूले आफ्नो स्वार्थसिद्धिका लागि जहिले पनि एउटा कृत्रिम शत्रुको निर्माण गर्छन् । र, त्यो कृत्रिम शत्रुको विरुद्धमा जनतालाई आफ्नो पक्षमा, आफ्नो स्वार्थपूर्तिका लागि सङ्गठित गर्छन् । र, त्यसरी सङ्गठित भएको जनतालाई आफ्नो पक्षमा, आफ्नो उद्देश्यपूर्तिमा उपयोग गर्छन् । कम्युनिस्टहरूको यो ‘कागजी बाघ’ रणनीति संसारभरिका कम्युनिस्टहरूले उपयोग गर्छन् र यो रणनीति सफल भएको छ पनि ।

अमेरिकाको घोर आलोचना गर्नु, नित्य गर्नु, विश्वास लाग्ने किसिमबाट गर्नु कम्युनिस्टहरूको ‘कागजी बाघ रणनीति’ अन्तर्गत पर्छ । कम्युनिस्ट शासकहरूले, कम्युनिस्ट नेताहरूले र कम्युनिस्ट सरकारहरूले उल्टो आफ्नो जनतालाई अति दुःख दिएका छन् । छिमेकी देशहरूलाई दुःख दिएका छन् । उनीहरूको सीमा अतिक्रमण गरेका छन् ।

कम्युनिज्म एउटा सपना हो, जुन सपना देखाएर कम्युनिस्ट नेताहरूले सत्तारोहण गर्छन् । सत्तालाई आफ्नो स्थायी घर बनाउँछन् । यो कार्य गर्नमा संसारभरिका कम्युनिस्टहरूले सफलता प्राप्त गरेका छन् । यो सपना देखाएर नेपालका कम्युनिस्टहरूले वर्षाैंदेखि गरीब नेपालीहरूको चरम शोषण गर्दै आएका छन् ।

अमेरिकालाई आफ्नै आँखाले हेरेर, आफैंले भोगेर, तथ्य र जानकारीहरूको कसीमा राखेर मात्र अमेरिकाप्रति धारणा बनाउनु असल हुन्छ । कम्युनिस्टहरूको आँखाले अमेरिकालाई हेर्ने भने अमेरिका ‘दादा’ राष्ट्र लाग्नु अस्वाभाविक होइन ।

अमेरिकालाई ‘अवसरहरूको देश’ भन्दै अमेरिका छिर्न खोज्नेहरूको सङ्ख्या दिन प्रतिदिन वृद्धि नै हुने क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here