प्रस, निजगढ, १३ असार/
बकैया पुल जोगाउन सडक डिभिजन कार्यालय, हेटौडाले आन्तरिक स्रोतबाट तारजाली लगाउन शुरू गरेको छ । पुलको पानी बग्ने भागमा रहेको तारजाली र सिमेन्टेड स्ल्याब भत्केपछि पुललाई संरक्षण गर्न तारजाली लगाउन शुरू गरिएको सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख राजेश यादवले बताए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग सडकखण्डको निजगढस्थित बकैया पुल वर्षौदेखि उच्च जोखिममा रहेकोले पुल संरक्षणका लागि सम्बन्धित माथिल्लो निकायमा रकम माग गर्दा नपाएपछि आन्तरिक स्रोतबाट तारजाली लगाउन शुरू गरिएको प्रमुख यादवले बताए ।
उनका अनुसार १५० घनमिटर तारजालीमा ढुङ्गा भर्न करीब ८ लाख ५० हजार रकम आन्तरिक स्रोतबाट जोहो गरी कार्य शुरू गरिएको हो ।
बकैया खोलामा वर्षौंदेखि ठेक्का लगायत अनेकौं नाउँमा नदीजन्य पदार्थ उत्खनन भइरहँदा पुल र आसपासका तारजालीको तटबन्ध र सिमेन्टेड पक्की स्ल्याब पूर्णरूपमा भत्केको छ । स्थानीय तहले खोला ठेक्काबापत वार्षिक न्यूनतम ९ करोडदेखि १६/१८ करोड सम्म ठेक्का लगाए पनि तटबन्ध, ड्याम संरक्षणमा कुनै लगानी गरेको छैन ।
सो ड्याम तत्कालीन सोभियत सङ्घले पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका बखत बनाएका थिए । पूर्ण रूपमा तटबन्ध, ड्याम निर्माण गर्न करीब ५० करोडभन्दा बढी लाग्ने देखिन्छ ।
यसरी नदीजन्य पदार्थको उत्खनन, दोहनका कारण करोडौंको तटबन्ध, ड्याममा क्षति पुगे पनि न स्थानीय तह, न प्रदेश सरकार, न सङ्घीय सरकारकै ध्यान जान सकेको छ । जसले गर्दा राजमार्गको लाइफ–लाइन बकैया, पसाह, बालगङ्गा पुल उच्च जोखिममा रहेका छन् ।
तटबन्ध, ड्याम निर्माण सम्पन्न नगरी नगरपालिकाले खोलाका ठेक्का लगाउन नहुने एकथरीको भनाइ छ । बेलैमा तटबन्ध निर्माण नगर्ने हो भने निजगढ नपाको वडा नं. ८ को बकैयाटोल, खयरघारी, जमुनापैनी, तेस्रोलाइन, नदीकाट आसपासका १५ सय भन्दा बढी घरधुरी बाढीको उच्च जोखिममा पर्छन् ।