प्रस, परवानीपुर, ८ असार/
बारा, परवानीपुर गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालू आवको प्रगति विवरण, आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरी पारित गरेको छ ।
सभाले रु ३५ करोड ७७ लाख ४४ हजारको आय विवरणसहित बजेट पारित गराएको जनाएको छ ।
केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि परवानीपुर गापाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले बताए ।
गापा उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइएकी छन् ।
आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा नौ करोड ६३ लाख, सशर्त अनुदान चालूतर्फ नौ करोड ४५ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान एक करोड प्राप्त भएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६७ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, सङ्घीय राजस्व बाँडफाँड छ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित पाँच करोड, २०७९/८० को नगद मौज्दात दुई करोडलगायत गरी ३५ करोड ७७ लाख ४४ हजारको अनुमानित बजेट पारित भएको छ ।
गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीको अध्यक्षातामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेकी बारा–३ की सांसद एवं पूर्वकृषिमन्त्री ज्यालाकुमारी साह, अतिथिहरूमा बारा–४ (१)का प्रदेश सांसद देवनारायण चFैधरी, राप्रपाका मोहन यादव, बहुअरीका अगुवा शिवशङ्कर पटेल, लोसपा नेता जगतनारायण महतो, माओवादी नेता लालबहादुर पटेललगायतले मन्तव्य दिएका थिए ।
परवानीपुर गापाको गाउँसभामा केही जनप्रतिनिधिहरूबीच रजिस्टरमा उपस्थिति हाजिर गराउने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो । एकजना जनप्रतिनिधिले उपस्थितिको हाजिर नगर्न केही सदस्यलाई रोक्न खोज्दा वडा सदस्यहरूबीच तनाव उत्पन्न भई हात हालाहाल भएको थियो ।