धर्मेन्द्र चौरसिया, पोखरिया, ८ असार/
पोखरिया नगरपालिकाले शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपप्रमुख रूबी ठाकुर र वडाध्यक्ष लक्ष्मणसाह कानूले संयुक्तरूपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आव २०८०/८१ मा पोखरिया नपाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
कृषिकर्मको लागि डीप बोरिड्ढो व्यवस्था गर्ने, खेतीका लागि आवश्यक मल, बीउबिजनको व्यवस्थापन गर्ने, शिक्षा क्षेत्रमा शिक्षकहरूको दरबन्दी मिलान गर्ने, आवश्यक शिक्षक भर्ना गर्ने, स्वास्थ्य क्षेत्रमा अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापन, औषधि सर्वसुलभ बनाउने, ओपिडी सेवा निश्शुल्क गर्नेलगायतका कार्यक्रम रहेको बताइएको छ ।
यसैगरी, नगरपालिकामा रहेका पोखरीहरूको सौन्दर्यीकरण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने, नगर विकासको जग्गा प्लटिङ र व्यवस्थापन कार्यलाई अन्तिम रूप दिने बताइएको छ ।
नगरप्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा भएको कार्यक्रममा उनले स्मार्टसिटी एक वर्षमा बन्न नसक्ने र त्यसका लागि अहिलेदेखि काम गर्दै जाने बताए । उनले एक वर्षमा स्मार्टसिटी बनाउने कुरा फगत झूटो भएको र त्यस्तो कुरामा आफू नपर्ने भन्दै स्मार्टसिटीको लागि आवश्यकता अनुसार कार्य गर्दै जाने बताए । राजनीतिक प्रतिशोधका कारण कसैले एक वर्षमा स्मार्टसिटी बनाउने धक्कु लगाएको भन्दै उनले त्यस्तो कुरामा विश्वास नगर्न आग्रह गरे ।
उनले पोखरियाको विकासका लागि आफू प्रतिबद्ध रहेको र यसमा सबैको साथ, सहयोग हुनुपर्ने बताए । उनले एक वर्षमा आफूले गरेका कामको मूल्याङ्कन गर्दै यसै गतिमा बाँकी चार वर्ष कार्यकालमा पोखरियाको स्वरूप परिवर्तन गर्ने दाबी गरे ।
उद्घाटन समारोहमा लोसपाका नेजामुद्दीन समानी, जसपाका खलील मियाँ, राजु साह तेली, एमालेका विन्ध्याचल ठाकुर, माओवादी केन्द्रका पन्नालाल पटेल, राधा बैठा, कमलेश्वर मिश्र, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालगायतले नगरसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नरेन्द्र साहले गरेका थिए ।