– डा शिवशङ्कर यादव
पाठकवृन्द डेलिरियम वा मतिभ्रमको विस्तृत वर्णन गर्नुभन्दा पहिले म एउटा उदाहरण दिन चाहन्छु ताकि त्यसलाई राम्ररी बुझ्न सकियोस्। मेरी आमालाई बे्रन स्ट्रोक भयो र उनी दायाँपट्टिको अद्धाङ्गले ग्रसित भइन्। हामीले हतपत आमालाई अस्पताल पु–याऔं। त्यहाँ के देखियो भने उनका दायाँ अङ्गहरू त चलेनन् नै साथै बेलाबेलामा उनी भए नभएको कुरा पनि गर्न थालिन्। ठीक कुरा गर्दागर्दै उनले त्यस्तो पनि गर्न थालिन्। त्यति बेला उनी के भन्न थालिन् कि हो बबुआ हेर त कसरी तिम्रो बुबा लकदक सेतो पोशाकमा शङ्कर ठाकुरसँगै अष्ठयाम गइरहेका छन्। गएर मेरोलागि पनि प्रसाद ल्याइदेउ न। हामी मुखामुख गर्न थाल्यौं र तुरुन्तै उनी फेरि सामान्य कुरा गर्न थाल्थिन् र फेरि केही बेरपछि त्यही अष्ठयामको कुरा। एकै छिनपछि फेरि ठीक। पाँच दिनसम्म आमा त्यही हालतमा रहिन्। औषधि हुँदै गयो। एक सप्ताहपछि अद्धाङ्ग त रहिरह्यो तर अष्ठयामको कुरा हरायो। यही हो डेलिरियम।
ब्रेन स्ट्रोक सोको कारण थियो तथा अद्धाङ्ग र डेलिरियम त्यसका लक्षण थिए। त्यस डेलिरियममा उनले अष्ठयामको कुरा भन्नुलाई हालिसिनेशन भनिन्छ। हालिसिनेशन त्यस भ्रमलाई भनिन्छ, जसमा विनाअस्तित्व पनि कुरालाई देखिन्छ। अस्पतालमा कुनै अष्ठयाम नै भइरहेको छैन तर रोगीले हेरिरहेको छ। यसको विपरीत हुन्छ, इल्युजन जसमा वातावरणमा कुनै अस्तित्व त छ तर रोगीले त्यसलाई गलतरूपले हेरिरहेको हुन्छ। बाटोमा रस्सी छ। हामीले त्यसलाई रस्सी नै देख्छौं। तर मतिभ्रमको रोगीले त्यसलाई साँप देख्छ र डराउँछ। डेलिरियममा यी दुवै वा दुवैमध्ये कुनै एक देख्न सकिन्छ।
डेलिरियमको उत्पत्ति लैटिन शब्द ‘डेलिरो’बाट भएको हो, जसको मतलब ट्र्याकबाट बाहिर जानु हो। मतलब यो कि सोचको जुन स्वाभाविक र सामान्य लय हुन्छ, रोगी त्यसबाट बाहिर गएर कुरा गर्छ। पहिलो शताब्दीमा सेल्सस नामक वैज्ञानिकले पहिलोपटक यसको प्रयोग गरे तर यसको विस्तृत विवरण सन् १९५९ मा एन्जेल र रोमानो नामक वैज्ञानिकले दिए।
यसरी डेलिरियम कन्फ्युजनको त्यो अवस्था हो, जसमा बर्बराउनु, घबराहट, ट्रेमर र हालिजिनेशन तथा इल्युजन पनि देख्न सकिन्छ। जसरी बादलले आकाशलाई छोपिदिन्छ, त्यसरी नै डेलिरियमले चेतनारूपी आकाशलाई छोपिदिन्छ र त्यसलाई ‘क्लाउडिङ अफ कन्ससनेस’ पनि भनिन्छ। जसरी बादल यताउति घुमिरहन्छ र बीचबीचमा आकाश देख्न सकिन्छ। त्यस्तै डेलिरियमरूपी क्लाउडिङमा पनि उतारचढाव भइरहन्छ र बीचबीचमा चेतना देखिन्छ।
मेरी आमाको त एउटा उदाहरण मात्र हो तर त्यस्तै अथवा अलि भिन्न किसिमले अनगिन्ती कारणले डेलिरियम देख्न सकिन्छ। हैजा अथवा बढी पखाला चल्दा इलेक्ट्रोलाइटको अधिक गडबडी भएर, त्यस्तै मुटुरोग वा आक्सिजनको अत्यधिक कमी, अत्यधिक रक्सीसेवन वा एक्कासि रक्सी छोड्नुले पनि डेलिरियम देखिन्छ। यसको अनन्त कारणले नै के देखिन्छ भने अस्पतालको आकस्मिक सेवामा सबैभन्दा बढी डेलिरियमका रोगी नै भर्ती हुन्छन्। अतः डेलिरियमका विस्तृत कारण निम्नलिखित छन् ः
मेटाबोलिकः हाइपोक्सिया वा आक्सिजनको कमी, हाइपोग्लासिमिया वा रगतमा ग्लुकोजको कमी, कलेजो र मिर्गौला रोगले ब्रेनमा पर्ने असर, मुटु फेल हुनु, पानी र इलेक्ट्रोलाइट सन्तुलनमा गडबडी, एसिडोसिस र अल्केलोसिस, अत्यधिक ज्वरो र अत्यधिक रक्ताल्पता आदि।
अन्तःस्रावी ग्रन्थिका कारणः पिट्युटरी, थायरायड र पाराथायरायड तथा एड्रिनल हार्मोनको अत्यधिक कमी वा बढी हुनु।
औषधि र जहरः डिजिटलिस जसलाई मुटुरोगमा प्रयोग गरिन्छ। रक्तचापको औषधि, अल्कोहल र शान्त पार्ने औषधिहरू, कम्पन कम गर्ने औषधि र स्टेरायडको अधिक प्रयोग आदि।
भोजनतत्वको कमीका कारणः भिटामिन बी १ को कमी, भिटामिन ६ र १२ तथा प्रोटिनको कमी।
शरीरभित्रको सङ्क्रमणः सेप्टिसिमिया, न्युमोनिया, इन्डोकार्डाइटिस आदि।
खप्परभित्रका कारणः छारेरोग, हेड इन्जुरी, मेनिन्जाइटिस, सिरेब्रल मलेरिया, माइग्रेन, ब्रेन स्ट्रोक, क्यान्सर आदि।
अर्का विभिन्न कारणहरूः पोस्टअपरेटिभ स्टेज, स्लीप डिप्रेसन, हेल्थ डिटोरिएशन, रेडिएशन आदि।
अब यो जानौं कि डेलिरियमलाई कसरी पहिचान गर्ने ? यो अक्सर एक्कासि शुरू हुन्छ। यसमा क्लाउडिङ अफ कन्ससनेस हुन्छ। विभिन्न प्रकारका हालिसिनेशन वा इल्युजन रोगीमा देखिन्छन्। यसमा जाग्ने र सुत्ने चक्र गडबड हुन्छ। मानिस राति सुत्न सक्दैन तर दिउँसो हरदम अनिदो अवस्थामा हुन्छ। बेलुका र रातमा रोगले बढी च्याप्छ, जसलाई सनडाउनिङ भनिन्छ। रोगीमा साइकोमोटर गडबडी हुन्छ अर्थात् विचित्र प्रकारको पोजिशनमा बस्नु वा उभिनु अथवा कम्पन गर्नु। यसको अलावा रातमा अक्सर उद्वेलित हुनु, आवाज धेरै मद्धिम हुनु, हातखुट्टा काम्नु, फोसिलेशन अथवा बेडकभर, सिरानी आदिलाई नोच्नु आदि देखिन्छ।
प्रिडिस्पोजिङ फैक्टरः यसको मतलब हुन्छ कि कुन कुन अवस्थामा डेलिरियम बढी हुने सम्भावना हुन्छ। ती भने निम्नलिखित हुन्– ब्रेन डैमेज अथवा डिमेन्सिया, एक्सट्रिम एज अर्थात् धेरै बुढेसकाल अवस्था वा धेरै युवावस्था, पहिले इतिहास भएकोमा, ड्रग डिपेन्डेन्टहरूमा, ब्रेनका रोगहरूमा, लामो समयको अस्वस्थतामा, भय, चिन्ता आदि समयमा आदि। यसमा एउटा कुरा ख्याल गर्नुपर्ने के छ भने कुनै रोगीमा रोगलाई सहने शक्ति बढी हुन्छ र कुनैमा कम। जब यो सहने शक्ति कम हुन्छ र उपरोक्त फैक्टर आएर मिल्छन्, तब रोग देखा पर्छ। यसलाई रोगीको थ्रेसहोल्ड भनिन्छ।
डेलिरियमको निदानः डेलिरियमको डायग्नोसिस छिटोभन्दा छिटो गर्नुपर्छ अन्यथा रोगी फर्कन नसकिने कोमा अथवा बेहोशीमा जान्छ, जसमा मृत्यु निश्चित हुन्छ। जसरी हैजामा छिटो पत्ता लगाएर फ्ल्युइड रिप्लेस गरियो भने रोगी पूर्णतः ठीक हुन्छ, अन्यथा मर्छ। यसरी धेरै डेलिरियम ठीक हुने खालका हुन्छन्। निदानमा यदि कारण थाहा छैन भने तुरुन्त सिविसी, युरिन एनालिसिस, ब्लड ग्लुकोज, लिभर फंक्सन टेस्ट, युरिया, क्रिएटिनिन, एक्स–रे चेस्ट र हेड, थायरायड फंक्सन टेस्ट, सिएसफ, भिडिआरएल र हिभ टेस्ट, इइजी, इसिजी, सिटी, एमआरआई गरेपछि अवश्य कारण पत्ता लाग्छ। त्यसपछि उपचार गर्न सजिलो हुन्छ, जुन निम्नलिखित अनुसार छन् ः
१. कारण पत्ता लागेपछि यदि हाइपोग्लाइसिमिया छ भने ५० मिलीग्राम डेक्सट्रोज नसाबाट दिनुस्, यदि हाइपोक्सिया छ भने आक्सिजन सिलिन्डरले तुरुन्त पर्याप्त आक्सिजन दिनुस्।
२. यसको अलावा भिटामिन बी १, ६ र १२ लाई नसाबाट दिनुस्।
३. लक्षण अनुसारको औषधि ः यदि मान्छे उद्वेलित छ भने दुई मिली डायजिपाम नसाबाट दिएर हेलोपेरिडाल वा लोराजिपाम भन्ने औषधि ठीक नहुन्जेल अथवा एक सप्ताहसम्म दिनुस्।
४. सपोर्टि« मेडिकल र नर्सिङ केयर पनि त्यत्तिकै आवश्यक हुन्छ, जसरी बेलाबेलामा चिकित्सब आएर समीक्षा गर्ने, समयमा औषधि, खाना र बेडका सरसफाइ आदि। अस्तु।