प्रस, वीरगंज, २७ जेठ/

नेपालमा आउने वैदेशिक सहायता र सहयोग रकम दुरुपयोग हुने गरेको सरोकारवालाहरूले आरोप लगाएका छन् । वीरगंजमा हिजो सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरलिज्म नामक संस्थाले आयोजना गरेको स्थानीय विकासमा विदेशी सहायताको गतिशीलता विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले सो कुरामा चिन्ता जाहेर गरेका थिए ।

उनीहरूले नेपालमा वैदेशिक सहायता र सहयोग दिने र लिने दुवै पक्षको नियत सफा नभएका कारण लक्षित वर्गले लाभ लिन नसकेको बताए । उनीहरूले वैदेशिक सहायता देशको नीति निर्माण तहमा बसेका राजनीतिक नेतृत्व र कार्यान्वयन तहका केही सीमित व्यक्तिहरूको कमाइ खाने भाँडो मात्र बनेको आरोप लगाए ।

डा. इन्दुशङ्कर मिश्रले नेपालमा आउने वैदेशिक सहायता र ऋण कार्यान्वयन तहमा अनुगमन र निगरानी हुन नसक्दा दुरुपयोग बढी हुने गरेको बताए । उनले फिल्डमा गएर अनुगमन र निगरानी नहुने, होटलमा बसेर, सेमिनार गरेर झारा टार्ने काम हुने गरेको आरोप लगाए ।

सन् १९८१ सम्म वैदेशिक सहयोग बढी र ऋण कम आउने गरेकोमा त्यसपछि उल्टो भइरहेको उनले बताए । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको उदाहरण दिदैं मिश्रले यसपालिको बजेटमा वैदेशिक सहायता र ऋणबाट २ खर्ब २० अर्ब रुपियाँ जुटाउने भनिएको र त्यसमा सहायता करीब ४९ अर्ब मात्रै रहेको तथा ऋण झन्डै १ खर्ब ७० अर्ब रहेको बताए । उनले नेपालले वैदेशिक सहायता र ऋण विकास निर्माणका लागि भन्दा पनि खानका लागि मात्र लिने गरेको आरोप लगाए ।

स्थानीय बुद्धिजीवी अशोकराज ठाकुरले वैदेशिक सहायता र ऋण दिने र लिने दुवैको नियत स्पष्ट नभएको आरोप लगाए । उनले वैदेशिक सहायताबाट आएको बजेटबाट एउटा प्रोजेक्ट शुरू हुन्छ, त्यो अधूरै रहेका बेला फेरि अर्को प्रोजेक्टका लागि बजेट मागेर ल्याइन्छ, यो नै विडम्बना भएको बताए । वैदेशिक सहायता र ऋण दिने र लिने दुवै पक्षको नियत सफा भएमात्र यसबाट दीर्घकालीन लाभ लिन सकिने उनको सुझाउ थियो ।

डा. सुषमा तिवारी द्विवेदीले नेपालका लागि वैदेशिक सहायता अति आवश्यक भए पनि त्यसको प्रभावकारी निगरानी नहुँदा आएको बजेटको सदुपयोग हुन नसकेको बताइन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले वैदेशिक सहयोग र ऋणको सदुपयोग गर्ने जिम्मेवारी राज्यको भएको बताए । तर पछिल्लो समय सहयोगभन्दा ऋण लिने प्रवृत्ति देखिनु चिन्ताको विषय बनेको बताएका थिए ।

नेपाल औषधी व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले वैदेशिक सहायताको दुरुपयोग बढी भइरहेको भन्दै राजनीतिक र सामाजिक चिन्तन परिवर्तन नभएसम्म यो समस्या आइरहने बताए ।

नेपाल रेडक्रस सोसाइटीका मधेस प्रदेश सभापति फुलमहम्मद मियाँले नेपाल कृषि प्रधान मुलुक र यहाँका ६५ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेको भएपनि वैदेशिक सहायता र ऋणहरू कृषि क्षेत्रमा कम आउने गरेको बताए ।

कार्यक्रममा पत्रकार अनिल तिवारी,  रितेश त्रिपाठी र माधुरी महतो, नेपाली काङ्ग्रेसका सरोज चौरसिया, वीउवासङ्घका महासचिव आशीष लाठ, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतो, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबाबू बैठा, सामाजिक अभियन्ता प्रकाश थारू, दलित अधिकारकर्मी नीला राम, नेतृ मोनिका सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरलिज्मका अध्यक्ष एर्व पूर्वराजदूत विजयकान्त कर्णले कार्यक्रममा आएका सुझाव र विचार नेपाल सरकारको नीति निर्माण तहमा बसेकाहरूसँग साझा गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here