ओमप्रकाश चौधरी, सेढवा २६ जेठ/
अत्यधिक गर्मी र वर्षा नहुँदा पर्साका अधिकांश क्षेत्रमा पानीको स्रोत सुक्न थालेको छ । पानीको स्रोत कुवाँ, इनार, चापाकल तथा खोलानालाका मुहानहरू सुक्दा निकै समस्या भएको छ भने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्सामार्फत ल्याइएका दर्जनौं खानेपानी योजना बेवारिसे अवस्थामा छन् ।
यसभन्दा पहिले १५० फिटभन्दा बढी गहिरो चापाकलबाट स्वतः पानी आउने गरेकोमा अहिले ती धाराहरू पनि सुक्न थालेका छन् । त्यस्तै पहिले सर्वसाधारणले २०/२५ फिट गहिरो जडान गरेको चापाकलबाट सजिलै पानी आउने गरेको भए पनि अहिले त्यस्ता चापाकलबाट अशुद्ध र आर्सेनिक मिसिएको पानी आउने गरेको छ ।
नेपाल सरकारले सर्वसाधारणलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले पर्साको विभिन्न स्थानमा करोडौंको लगानीमा विभिन्न योजनाहरू ल्याए पनि सञ्चालनमा आउन सकेको छैन । वर्षौंदेखि योजनाहरू अलपत्र परेका छन् ।
पोखरिया, भिस्वा, सेढवा, मनवा, बढनियार, सोलकपुर, महुवन, लालपर्सा, परशुरामपुर, सुवर्णपुर, मालीबस्ती, हनुमाननगरलगायत स्थानमा करोडौं रुपियाँको लगानीमा खानेपानी संरचना तयार भएपनि सञ्चालनमा नआएको एक दशकभन्दा बढी समय बितेको स्थानीयले बताए ।
स्वच्छ तथा सफा खानेपानी वितरण गर्ने उद्देश्यले निर्माण गरिएको ओभरहेड ट्याङ्की, बोरिङ, कम्पाउन्ड वाल, पम्पहाउस निर्माण गरिएको वर्षाै बितिसकेको छ र प्रयोगमा नल्याउँदा जीर्ण हुन थालेको छ । खानेपानीको प्रत्येक योजना रु दुर्ई करोड लागतका छन् ।
त्यस्तै तत्कालीन गाविस शङ्करसरैया र सोनबर्सामा खानेपानीका लागि आव २०६४/६५ मा दुर्ई/दुर्ई करोडको योजना ल्याइएको थियो । सो योजना अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको घोडेमशान खोलाबाट पाइपलाइन जडान गरी ल्याएको पानी समुदायमा वितरण गर्ने योजना थियो जुन अहिले अलपत्र छ ।
ठोरी गापा–५ गडुवालाइनमा रहेका खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर श्रेष्ठले लक्षित क्षेत्रभन्दा कम क्षेत्रमा खानेपानी वितरण शुरू भएको बताए । समितिले ओभरहेड ट्याङ्कीबाट गडुवालाइन, बथेटोल, प्रधानटोलको माथिल्लो क्षेत्रमा पानी वितरण भइरहेको श्रेष्ठले बताए । सुवर्णपुर, छिरिङलाइन र गडुवालाइनको लागि पाइपलाइन आइसकेको तर जनश्रमदान रकम अभावको कारण जडान हुन नसकेको अध्यक्ष श्रेष्ठले बताए ।
खानेपानीका यी योजनाहरू स्थानीय पालिका मातहतका सम्बन्धित उपभोक्ता समितिको मातहत रहेकोले सञ्चालनमा ल्याउन समस्या भएको जनप्रतिनिधिहरूले बताएका छन् । पालिकाभित्र रहेका कुनैपनि संरचनाको संरक्षण तथा प्रवद्र्धन पालिकाको नैतिक जिम्मेवारी भए पनि सञ्चालनमा ल्याउन कठिन भएको प्रतिनिधिहरूको ठहर छ । यी खानेपानी योजनाहरूको सञ्चालन र प्रबन्धन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयको प्रमुख जिम्मवारी रहेको उनीहरूको भनाइ छ ।
खानेपानी वितरणका लागि निर्माण गरिएको संरचना सञ्चालन गरेर राज्यको लगानी सफल बनाउनु जनप्रतिनिधिहरूको दायित्व रहेकोमा उनीहरूले पनि खासै चासो नदिएको सर्वसाधारणहरूको गुनासो छ ।