प्रस, वीरगंज, १८ जेठ/
मुलुककै प्रमुख, वीरगंज भन्सारको राजस्व असुली चालू आवको १० महीनामा लक्ष्यभन्दा निकै कम देखिएको छ । वीरगंज भन्सारले चालू आवको साउनदेखि वैशाख मसान्तसम्म लक्ष्यको ५९.९५ प्रतिशत राजस्व मात्रै असुली गरेको छ ।
अर्थात् वीरगंज भन्सारले चालू आवको पछिल्लो १० महीनामा रु २ खर्ब १४ अर्ब १५ करोड ९० लाख ६४ हजार पाएको लक्ष्यमध्ये १ खर्ब २८ अर्ब ३९ करोड २८ लाख ४ हजार राजस्व सङ्कलन गरेको छ । वीरगंज भन्सारले साउनदेखि वैशाखसम्म कुल ८५ अर्ब ७६ करोड ६२ लाख ६० हजार कम राजस्व सङ्कलन गरेको वीरगंज भन्सारको तथ्याङ्क शाखाले जनाएको छ ।
जबकि वीरगंज भन्सारले गत आव २०७८/७९ को साउनदेखि वैशाखसम्म रु १ खर्ब ६८ अर्ब ८६ करोड २६ लाख ३४ हजार लक्ष्य पाएकोमा १०१ प्रतिशत अर्थात् १ खर्ब ७० अर्ब ७० करोड २६ लाख ६९ हजार राजस्व सङ्कलन गरेको थियो । चालू आवमा पोहोरभन्दा राजस्व लक्ष्य बढी तर मालवस्तुको आयातमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको भन्सार अधिकारीहरूको भनाइ छ । वीरगंज भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालका अनुसार गत आवको वैशाखमा मात्रै १६ अर्ब ९३ करोड १२ लाख ११ हजार राजस्व लक्ष्य पाएकोमा वीरगंज भन्सारले ९०.४८ प्रतिशत अर्थात् १६ अर्ब ३१ करोड ९७ लाख ११ हजार राजस्व सङ्कलन गरेको थियो भने यस चालू आवको साउनदेखि वैशाखसम्म १० महीनामा २३ अर्ब १२ करोड २६ लाख ५२ हजार राजस्व लक्ष्य पाएकोमा ५७.३४ प्रतिशत अर्थात् १३ अर्ब २५ करोड ९२ लाख ५२ हजार राजस्व सङ्कलन गरेको छ ।
वीरगंज भन्सारले वैशाखसम्म भन्सार महसुलतर्फ रु ८० अर्ब ८४ करोड ४७ लाख ५४ हजार लक्ष्य पाएकोमा ५६.१९ प्रतिशत अर्थात् ४५ अर्ब ४२ करोड ६६ लाख ४८ हजार, मूल्य अभिवृद्धि करतर्फ ७९ अर्ब ६३ करोड ६९ लाख ३४ हजार लक्ष्य पाएकोमा ७२.७९ प्रतिशत अर्थात् ५७ अर्ब ९६ करोड ७७ लाख १७ हजार, अन्तःशुल्कतर्फ २१ अर्ब ७० करोड ७३ लाख ६१ हजार लक्ष्य पाएकोमा ३७.४६ प्रतिशत अर्थात् ८ अर्ब १३ करोड १७ लाख ८८ हजार राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी पूर्वाधार करतर्फ १७ अर्ब ६७ करोड ९ लाख ९६ हजार लक्ष्य पाएकोमा ६३.४२ प्रतिशत अर्थात् ११ अर्ब २० करोड ६३ लाख ५६ हजार, कृषि सुधार कर तर्फ १ अर्ब ७६ करोड ३ लाख ८५ हजार लक्ष्य पाएकोमा ७५.४७ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ८४ लाख ७८ हजार, सडक मरम्मत तथा सुधार करतर्फ ७ अर्ब ९८ करोड २८ लाख १३ हजार लक्ष्य पाएकोमा ३६.१३ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड ४१ लाख ५५ हजार एवं सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३ अर्ब ४८ करोड ३४ लाख ७ लाख राजस्व लक्ष्य पाएकोमा ३२.०६ प्रतिशत अर्थात् १ अर्ब ११ करोड ६६ लाख ५० हजार राजस्व सङ्कलन भएको थियो ।
वीरगंज भन्सारको तथ्याङ्क अनुसार गत आवको १० महीनामा प्रज्ञापन पत्रको सङ्ख्या विश्लेषण गर्दा हरियो च्यानलबाट ३३ हजार १८२,पहेंलोबाट ४६ हजार ८८९ र रातोबाट ८७ हजार ५१३ वटा प्रज्ञापन पत्र जाँचपास भएको थियो भने चालू आवमा हरियोबाट २१ हजार ८२१, पहेंलो ३६ हजार ५९८ र रातोबाट ६५ हजार ३२४ वटा प्रज्ञापनपत्र जाँचपास भएको थियो ।
पछिल्लो १० महीनाको उत्कृष्ट २० आयातित मालवस्तुमा डिजेल, पेट्रोल, जिपकार भ्यान, एलपी ग्याँस, एमएस विलेट, भटमासको कच्चा तेल, अन्य कोइला, पामको कच्चा तेल, सुर्ती, मोटरसाइकल, एचआर सिट, मोटरसाइकल एसेम्बल्ड, तयारी कपडा, सूर्यमुखीको कच्चा तेल, लुब्रिकेन्ट्स मोबिल, पेन्ट्स र वार्नेस, एमएस स्टिल, हल्का पेय पदार्थ,पोलिथिन दाना, रेफ्रिजेरेटर रहेका छन् ।