प्रस, वीरगंज, १७ जेठ/
अन्तर्राष्ट्रिय धुम्रपानरहित दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सचित्र प्रशिक्षण एवं विचारगोष्ठी आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दीले गर्दै लागूपदार्थ र कुलतको शिकार भएर आजका युवाहरूले जीवन नष्ट गरिरहेका बताए । उनले विश्वव्यापी ब्रह्माकुमारी संस्थाले विश्वभरि विभिन्न सचेतनामूलक कार्यक्रम र आध्यात्मिकताको माध्यमबाट समाजलाई कुलत, दुव्र्यसन र विकृति–विसङ्गतिबाट मुक्त गर्न सक्ने बताए ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले युवाहरू यो कुलतमा नफसोस् भनेर गम्भीर हुनुपर्ने बताए । युवा अवस्थाका मानिसहरूमा खासगरी यो कुलत देखिने गरेकोले यसतर्फ संवेदनशील हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा ब्रह्माकुमार डा सागरले लागूऔषधसम्बन्धी उत्प्रेरणामूलक प्रस्तुति देखाएका थिए भने ब्रह्माकुमारी सविता र तृप्तिले आध्यात्मिक र सचेतनामूलक चित्र प्रदर्शनी गरेका थिए ।
ब्रह्माकुमारी रविना दिदीको अध्यक्षयतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी गण पिलुवाका प्रहरी उपरीक्षक राजु श्रेष्ठ, राजयोग प्रशिक्षक ब्रह्माकुमार गुणराज, ज्ञानदा एकेडेमीका प्रमुख राजेन्द्र कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजसेवी मधु राणा, सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, युवा प्रभाग वीरगंजका संयोजक ब्रह्माकुमार गोवर्धन चौधरी, ज्ञानदा एकेडेमीमा अध्ययनरत कक्षा ८, ९, १० र ११ का विद्यार्थीहरूको सहभागिता थियो ।
ब्रह्माकुमारी बेलीले स्वागत र युवा प्रभाग वीरगंजका सहसंयोजक ब्रह्माकुमार गोकुल गुभाजुले कार्यक्रमको सहजीकरण गरेका थिए ।