काठमाडौं, १७ जेठ/रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मछिन्द्रको जीतमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे ।
पराजित सातदोबाटोका जोर्डन पुनमगरले एक गोल फर्काए । खेलको १७औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।
खेलको ५६औंं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८४औं मिनेटमा सातदोबाटोका जोर्डनले एक गोल गरे । यस जीतसँगै मछिन्द्र २३ खेलमा ३९ अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान खेल खेलेको सातदोबाटो २९ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ ।