प्रस, निजगढ, १३ जेठ/
वन क्षेत्रको संरक्षण गर्न सके मात्रै वनजङ्गलको दीर्घकालीन संरक्षण, संवद्र्धन, विकास हुने र यसका लागि मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको मधेस प्रदेशका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले बताएका छन् ।
नेपाल राष्ट्रिय मावि खुट्वाजब्दी बारामा गढीमाई साझेदारी वन उपभोक्ता समूह पथलैयाको दोस्रो साधारणसभाको उद्घाटन गर्दै वनमन्त्री कुर्मीले शुक्रवार सो कुरा बताएका हुन् ।
वन क्षेत्रको रक्षा, संरक्षण गर्न स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारसमेत प्रतिबद्ध भएर लाग्ने उनले बताए । वन जनताको हो र राष्ट्रको सम्पत्ति भएकोले यसको संरक्षणमा जनता आफैं जागरुक र सचेत हुनुपर्ने उनले बताए । कुनै समय आफू पनि साझेदारी वन अभियन्ता रहेकोले साझेदारी वन स्थापना गर्न निकै मेहनत गरेको अनुभव सुनाउँदै मन्त्री कुर्मीले इमानदारिता, निरन्तर मेहनत र इच्छाशक्तिबाट मात्र वन संरक्षण र संवद्र्धन हुने बताए ।
विकासको नाउँमा वनजङ्गल क्षेत्र घट्दै जानु दुःखद रहेको बताउँदै उनले विविध बहानामा वन क्षेत्र माथि आक्रमण हँुदै आएको बताए । उनले वन क्षेत्र विनाशका कारण पानीको स्रोत घट्दै गएको, वातावरण सन्तुलनको अवस्था बिग्रँदै गएको, मूल मुहान, जरुवालगायत स्रोत घट्दै गएकोले पानी र प्राण एउटा सिक्काका दुई पाटा भएकाले वनजङ्गलको संरक्षण सरकारको मात्र नभई हरेक नेपालीको पहिलो अनिवार्य शर्त रहेको जिकिर गरे ।
कार्यक्रममा मधेस प्रदेश वन निर्देशनालयका सचिव जगन्ननाथप्रसाद जयसवालले वनजङ्गल मानव जीवनका लागि मात्र नभएर वन्यजन्तुलगायत प्राणीको अस्तित्व रक्षाका लागि अनिवार्य रहेको बताए । जबसम्म वन क्षेत्रको संरक्षण, रक्षा हुन सक्दैन, तबसम्म रूख हेरेर मात्रै खुशी हुनुको कुनै अर्थ नहुने उनले बताए ।
भूमिहीन सुकुम्बासीको नाउँमा हजारौं हेक्टर वन क्षेत्र गुम्ने खतरा बढ्दै गएकोले वन क्षेत्रको रक्षा गर्ने दायित्व राज्यको रहेकोले यसबारे सबै तह गम्भीर हुनुपर्ने उनले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वन सुरक्षा समितिका अध्यक्ष नवराज सापकोटाले बाराको वन क्षेत्र र वन क्षेत्रको संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले वन क्षेत्र अतिक्रमण गरि वर्षौदेखि बस्दै आएकालाई हटाई पुनः वृक्षारोपण गर्ने योजना अघि बढाउन वन कार्यालयलाई आग्रह गरे ।
कार्यक्रममा मधेस प्रदेश वन निर्देशनालयका उपसचिव सुजितकुमार झा, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमद, साझेदारी वन उपभोक्ता महासङ्घका केन्द्रीय अध्यक्ष एवं कोल्हवीका नगरप्रमुख रामप्रसाद चौधरी, पूर्व केन्द्रीय अध्यक्ष रामरूप कुर्मी, डिभिजन वन कार्यालय, बाराका प्रमुख विनोद सिंह, गणेशप्रसाद साह, रमेश खरेललगायतले शुभकामना व्यक्त गरेका दिए ।
जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्रकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले गरेका थिए ।