प्रस, पोखरिया, १० जेठ/
छिपहरमाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । विकास निर्माणमा भ्रष्टाचार भएको उजूरीको आधारमा अख्तियारले मङ्गलवार छापामारी गरी कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारले सम्बन्धित कागजात माग गर्दा गापा कार्यालयले उपलब्ध नगराएपछि अख्तियारको टोलीले गापा कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको थियो ।
गापा अध्यक्ष मनोजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझालगायत जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा विभिन्न योजना, कर्मचारी नियुक्ति, सामग्री खरीदलगायतमा भ्रष्टाचार गरेको उजूरी परेपछि अख्तियारले सम्बन्धित योजनाको कागजात माग गरेको थियो । तर प्रमुख प्रशासकीय अधिकृत ओझाले कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका थिए ।
पटक–पटक आग्रह गर्दा पनि गापाले कागजात उपलब्ध नगराएपछि अख्तियारको टोलीले कार्यालयमैं पुगेर कागजात नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
सूचना अधिकारी सापकोटाले गापा अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत ओझाविरुद्ध १५ वटा उजूरी परेको जानकारी गराए । उनले उजूरीका विषयमा छानबीन भइरहेको बताए ।
यसबारेमा गापा अध्यक्ष गुप्ताले अख्तियारले छापामारी नगरेको बताए । उनले अख्तियारको टोलीले उजूरीसम्बन्धी कागजातहरू अध्ययनका लागि लगेको बताए । अध्यक्ष गुप्ताले करारमा नियुक्त गरिएका कर्मचारीको विषयमा कसैले उजूरी दिएको रहेछ, सोहीसम्बन्धी आवश्यक कागजात अख्तियारले लगेको बताए ।