प्रस, सिम्रौनगढ, ८ जेठ/

बाराको सुवर्ण गाउँपालिकाको कार्यालयमा सोमवार विद्यार्थीहरूले तोडफोड र आगजनी गरेर लाखौं मूल्यका भौतिक सम्पत्तिमा क्षति पुर्याएका छन् ।

सुवर्ण गाउँपालिका–४ स्थित हर्दिया परशुरामपुर र देवापुर बहुअर्वा  माध्यमिक विद्यालयका प्रधानाध्यापक राजएकबाल साहसहित केही अन्य विद्यालयका शिक्षकहरूलाई सरुवा गरेपछि विरोधमा उत्रेका विद्यार्थीहरूले गापा कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् । उनीहरूले कार्यालयमा रहेका छवटा मोटरसाइकल, एउटा जेसिबी, फर्निचर, कम्प्युटहरू तोडफोड तथा आगजनी गरेका थिए । सो क्रममा प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिन करीब ३० राउन्ड अश्रुग्याँस फायर गरेको थियो ।

जनपद र सशस्त्र प्रहरी टोली आएपछि आक्रोशित विद्यार्थीहरूले ढुङ्गामुढा पनि गरे । प्रहरी र विद्यार्थीहरूबीच भएको झडपमा दुवैतर्फबाट घाइते भएका छन् । घटनामा वडाध्यक्ष रञ्जीत यादव पनि घाइते भएका छन् ।

घाइतेहरूको उपचार कलैया अस्पतालमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, बाराले विद्यार्थीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका र परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३० सेल अश्रुग्याँस फायर गरेको बताएको छ ।

बारा प्रहरीले घाइतेहरूको उपचार अस्पतालमा भइरहेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here