प्रस, पंचगावाँ, ८ जेठ/
पटेर्वासुगौली गाउँपालिका अन्तर्गतको गादी र भलुवाही खोलामा ठेकेदारले अनधिकृत उत्खनन गरेकाले आसपासका जङ्गलमा रहेका रूखहरू ढल्न थालेका छन् ।
जीराभवानी गापासँग खोला विवादका कारण पटेर्वासुगौली गापाले उच्च अदालतको आदेशमा गत २०७९ फागुन २९ गते गादी र सहायक खोला भलुवाहीमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, ग्राभेल र बालुवाको ठेक्का लगाएको थियो । फागुनमा लागेको यो ठेक्का यही जेठ मसान्तसम्मका लागि हो ।
अहिले ठेक्का अवधि सकिन लाग्दा गादी र भलुवाही खोलामा अवैधरूपमा उत्खनन जोडतोडका साथ भइरहेको छ । गापा कार्यालयले मूअकरसमेत रु ३९ लाख २१ हजार ६२५ मा सात लाख ८१ हजार ५६३ घनफिट नदीजन्य पदार्थ उत्खननका लागि लगाएको ठेक्का वीरगंज महानगर–२७ का न्यू उज्ज्वल निर्माण सेवाले सकार गरेको थियो । अहिले ठेकेदारले तोकिएको परिमाणभन्दा बढी उत्खनन गर्दै आएका छन ।
दैनिक ७५ देखि सयवटा ट्याक्टरबाट बालुवा, गिट्टी, ढुङ्गा ढुवानी भइरहेका छन् । तर तोकिएको परिमाण सात लाख ८१ हजार ५६३ घनफिट नपुगाउनलाई कतिपय ट्याक्टरको पुर्जा काटिंदैन भने एकै प्रकारका ट्याक्टरहरूको पनि घनफिट कम देखाएर रसिद काटने गरिन्छ ।
गापाले नदीजन्य पदार्थ उत्खनन गर्दा तीन फिटभन्दा बढी गहिरो गरी उत्खनन गर्न नपाउने शर्त राखे पनि सोविपरीत ठेकेदारले १८ फिटभन्दा गहिरो खाल्डो पारेर नदीजन्य पदार्थ उत्खनन गर्दै आएको सहजै देख्न सकिन्छ ।
ठेकेदारले मापदण्डविपरीत जथाभावी खाल्डो खनेर नदीको दोहन गर्दाको परिणाम गादी र भलुवाही आसपासका जङ्गलमा रहेका पुराना सालका रूखहरू ढल्न थालेका छन् । स्थानीयले ठेकेदारको मनोमानीविरुद्ध गापा कार्यालयले केही नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।