लगभग पाँच दशकदेखि चर्चामा रहेको श्रीसिया नदीको प्रदूषण हटाउने अभियानमा एउटा नयाँ आयाम जोडिन पुगेको छ । नदीलाई प्रदूषणमुक्त बनाउने, भूमिहीनलाई अधिकार दिलाई रोजगारी बनाउने तथा चुरे वन–जङ्गल संरक्षणका निम्ति चुरे तथा वन–जङ्गल संरक्षण अभियानले जन आवाज आन्दोलन शुरू गरेको छ । अभियानका सदस्य तथा नागरिक समाज विभिन्न कार्यक्रमसहित धर्ना बस्ने योजना लिएर वीरगंजदेखि काठमाडौंका लागि दलबलसहित निस्केको छ । नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ । श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउन बितेका दिनमा धेरै मानिस, संस्था, सरकार सबैले प्रयास नगरेको चाहिं होइन । समाचारपत्रहरूले लेख्यालेख्यै छन्, छठ पूजाको बेला सम्पूर्ण नागरिक समाज, प्रशासन, प्रदूषणकर्तासमेत संवेदनशील नभएका होइनन् । सीमापार रक्सौलबाट समेत पर्यावरणवादीहरूले विरोधका कार्यक्रम सञ्चालन गरे । भारतीय संसद्मा समेत आवाज पुग्यो, तर फोहर नदी फोहर नै रह्यो ।
श्रीसिया नदी आफैं फोहर भएको होइन । सामाजिक र धार्मिक मान्यतालाई बलि चढाएर पैसा कमाउनेहरूको तीव्र धन–लालसाले यस नदीलाई फोहर–प्रदूषित बनाएको हो । सिमरादेखि वीरगंजसम्मको २७ किलोमिटर लामो नदी किनारमा कारखानैकारखाना स्थापित भएका छन् । नदी किनारमा कारखाना किन स्थापित भए भने कारखानाको फोहर सित्तैमा नदीमा खसाल्न पाइन्छ भनेर । नदी किनारमा स्थापित छाला कारखाना, स्टील फ्याक्ट्री, कपडा उद्योग, घ्यू, साबुनजस्ता कारखानाहरूबाट निष्कासित रसायनयुक्त, चरम दुर्गन्धित पदार्थ ठाडै नदीमा खसालिन्छ । यी विषालु पदार्थका कारण नदीको पानी प्रयोगविहीन भएको मात्र होइन, पानी छुने मानिस वा जीवजन्तु बिरामी पर्ने गरेका छन् । जलजन्तुहरूको त अब नदीमा अस्तित्वसमेत शेष छैन । यति मात्र होइन, नदीको मुहान चुरे जङ्गलको रामवन रहेको र विभिन्न प्रकारका जडीबुटीको सत्व लिएर निस्केको नदीको पानी आरोग्यवाहक पनि थियो । त्यसैको लोभमा सीमापारी रक्सौल छेउमा नदीको किनारमा सुन्दरपुर बस्ती बस्यो । यहाँ कोढी व्यक्तिहरूको उपचार गरिन्थ्यो र त्यसैका कारण यो बस्ती भारत र नेपालमा प्रसिद्ध पनि छ । तर अब नदीको पानीले गर्दा रोग निको हुनेभन्दा बल्झिने गरेको गुनासो छ ।
नेपालका केही उद्योगपतिहरूलाई मालामाल गराउने सरकारको नीतिले गर्दा नेपालको २७ किलोमिटर लामो भूभाग आज दुर्गन्ध र प्रदूषणको अभिशाप मात्र भोगिरहेको छैन, द्विदेशीय सम्बन्ध र वीरगंज–रक्सौलबीच स्थापित भगिनी शहरको मर्यादामा पनि दाग लाग्न पुगेको छ । यसै सन्दर्भमा अहिले शुरू भएको अभियानको विशेष महत्व देखिन्छ । तर आन्दोलनको गन्तव्य राजधानी भएकोले शंका लाग्छ–किनकि उर्दूमा भनिन्छ– जहाँ बेदर्द हाकिम हो, वहाँ फरियाद क्या करना ? विभिन्न अनियमितता, बेइमानी, स्वार्थपरता, भ्रष्टाचारकाण्डको लिसोले गुजुल्टिएको राजधानीको शासन, पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं नदीलाई प्रदूषणमुक्त बनाउने अभियानमा अन्य मामिला पनि गाँसिएको यस आन्दोलनमा राप नै कति होला र यसले गुजुल्टो पगाल्न सक्ला ! तर पनि मानिस सदा आशावादी रहेको छ । कहिलेकाहीं नपत्याएको खोलाले बगाउँछ भन्छन् । के ठेकान यस आन्दोलनले नै कुनै चमत्कार देखाउँछ कि !