प्रस, वीरगंज, ६ जेठ/

नेपाल शिक्षक महासङ्घ, पर्साले भोलिदेखि आन्दोलनको घोषणा गरेको छ ।

नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष्F तीर्थराज यादवले आइतवारदेखि मङ्गलवारसम्म पहिलो चरणमा तीन दिने सङ्घर्षका कार्यक्रम ल्याइएको बताए ।

स्थानीय पालिकाले शिक्षा ऐनविपरीत गर्न लागेको सरुवा, बढुवा, घटुवालगायत काखापाखा रवैयाको विरुद्धमा शिक्षक महासङ्घ आन्दोलित भएको उनले जानकारी गराए ।

आइतवार पर्साका सबै शिक्षक कर्मचारीले हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्नेछन् भने सोमवार र मङ्गलवार वीरगंज महानगरपालिका कार्यालयअगाडि दिउँसो १ बजेदेखि शिक्षक महासङ्घमा आबद्ध शिक्षक, कर्मचारीहरूले धर्ना प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए । यसअघि शिक्षक महासङ्घले शिक्षा ऐनविपरीत मनपरी ढङ्गले स्थानीय पालिकाहरूले गरेको सरुवाको विरोध जनाउँदै सात दिने अल्टिमेटम दिएको थियो । दश बुँदे माग राख्दै दिएको अल्टिमेटममा वीरगंज महानगरपालिकाले कुनै चासो नदिएपछि आन्दोलनका कार्यक्रम अगाडि बढाइएको बताए ।

महानगर संवेदनशील नभए  शिक्षक महासङ्घले आन्दोलनका थप कार्यक्रमहरू गर्ने चेतावनी दिएको थियो ।

नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष यादवको अध्यक्षता एवं सचिव विनोद गिरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य चन्देश चौहान, अखिल नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष रामेश्वर पटेल, नेपाल शिक्षक महासङ्घ, वीरगंज महानगरपालिकाका अध्यक्ष विनोद मेहता, समाजवादी शिक्षक फोरम, पर्साका अध्यक्ष हरेन्द्र चौरसियालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here