प्रस, वीरगंज, ५ जेठ/

नारायणी अस्पतालमा एमआरआई सञ्चालनमा आउन अझ केही समय लाग्ने भएको छ ।

लुम्बिनी साइन्सेजमार्फत रु ३० करोडमा खरीद भएको थ्री टेस्ला एमआरआई मेशिन सञ्चालनमा आउन अझै केही महीना लाग्ने भएको छ । एक वर्षअगाडि ठेक्कामार्फत लुम्बिनी साइन्सेजले आयात गरेको थ्री टेस्लाको अत्याधुनिक एमआरआई मेशिन हिलियम ग्याँसको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले बताए ।

उनले एमआरआई सञ्चालनको लागि आवश्यक पूर्वाधार, भौतिक संरचना, जनशक्तिको व्यवस्थापन भएपनि हिलियम ग्याँसको अभावमा एमआरआई सञ्चालनमा आउन नसकेको बताए । अहिले विश्वभर यो ग्याँसको अभाव भएको र ठेकेदारले आयात गर्न नसकेको कारण सञ्चालनमा ढिला भएको सूचना अधिकारी डा सिंहको भनाइ छ ।

नारायणी अस्पतालपछि वीर अस्पतालको ट्रमा सेन्टरमा थ्री टेस्लाकै एमआरआई मेशिन जडान भएको  छ । वीर अस्पतालमा जडान भएको थ्री टेस्लाको एमआरआई मेशिन खरीदमा अनियमितता भएको आरोप लागेपछि अख्तियारले चासो देखाएको थियो । वीर अस्पतालको घटनामा अख्तियारले वीरगंजमा जडान भइरहेको थ्री टेस्लाको एमआरआई मेशिनबारे जानकारी लिएको थियो । अख्तियारले मेशिन जडान भएर सञ्चालनमा आउँदा खबर गर्न अस्पताललाई निर्देश गरेको छ ।

वीरगंजमा अहिले दुई ठाउँमा एमआरआई मेशिन सञ्चालनमा छ । एडभान्स अस्पतालको अगाडि डा मनोज रूँगटाको ट्रमा सेन्टर र वीरगंज हेल्थकेयरमा एमआरआई मेशिन सञ्चालनमा छन् । यहाँ सञ्चालित एमआरआई १.५ टेस्ला हो । यसको लागि हिलियम ग्याँस आवश्यक पर्दैन । त्यसैले यी दुई ठाउँमा एमआरआई सञ्चालनमा छन् ।

अस्पतालमा एमआरआई सञ्चालन भएपछि बजारभन्दा ३० प्रतिशत सस्तो हुने सूचना अधिकारी डा सिंह बताउँछन् । अहिले निजी क्षेत्रमा एमआरआई गराउँदा सामान्यतया रु १२ हजारसम्म सर्वसाधारणले तिर्नुपर्छ ।

नारायणी अस्पतालमा एमआरआई सञ्चालन भएमा मधेस प्रदेशका बिरामीहरू आकर्षित हुने बताइन्छ । यो क्षमताको एमआरआई मेशिन नेपालमैं पहिलो भएको र मधेस प्रदेशका सेवाग्राही वीरगंजमा उपचारको लागि आउने सम्भावना छ । तर एमआरआई सञ्चालन नहुँदा सर्वसाधारण सो सुविधाबाट वञ्चित हुनुपरेको छ ।  अहिले एमआरआई सञ्चालन नहुनुमा निजी क्ष्Fेत्रको दबाब तथा अख्तियारको हस्तक्षेप भनेर हल्ला फैलाइए पनि त्यसमा सत्यता नरहेको सूचना अधिकारी डा सिंहले बताए । उनले हिलियम ग्याँस अभावमा सञ्चालन नभएको र यसको आपूर्ति हुनासाथ एमआरआई सञ्चालनमा आउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here