प्रस, वीरगंज, ५ जेठ/

मिटरब्याजीविरुद्ध अभियान चलेपछि अहिले गाउँघरमा गरीबले ऋण पाउन नसकेपछि पर्सामा एक दर्जनभन्दा बढी बिहे रोकिएका छन् ।

देशको अर्थतन्त्र खस्किंदो अवस्थामा रहेको बेला एकातर्फ बैंकले सर्वसाधारणलाई ऋण दिन छाडेको छ भने अर्कोतिर गाउँघरमा साहुबाट लेनदेन हुने रकम पनि बन्द भएको छ । जसले गर्दा रकम अभावमा यस वर्ष तोकिएका विवाहका मिति आगामी वर्ष सारिएका छन् ।

गाउँमा घरजग्गा बेचेर विवाह गर्न खोजे पनि अहिले त्यो सम्भव देखिएको छैन । साहुमहाजनले मिटरब्याजीमा कारबाई हुने भयले यस प्रकारको लेनदेन बन्द गरेको लङ्गडी निवासी राजकुमार गुप्ताले बताए । उनले केटापक्षले दाइजो माग गर्ने, केटीपक्षले मिटरब्याजकै हल्लाले दाइजोको व्यवस्थापन गर्न नसक्दा बिहे कार्यक्रम रद्द हुँदै आएको बताए ।

गरीबहरूले ऋण नपाएपछि उनीहरूले थप समस्या बेहोर्दै आएका छन् । सानोतिनो रकमको लागि यसअघि गरीबहरू साहुमहाजनको ऋणमा आश्रित थिए । अहिले मिटरब्याजीलाई कारबाई हुने हल्लाले साहुमहाजनले ऋण दिन चाहेका छैनन् भने आवश्यक हुनेहरूलाई ऋण नपाउँदा समस्या बढ्दो छ ।

वीरगंजमा रहेका पार्टी प्यालेस, होटलमा वैवाहिक कार्यक्रमको बूकिङ यही कारणले स्थगित भएको रोयल पार्टी प्यालेशका सञ्चालक कुमार श्रेष्ठले बताए । उनले आफ्नो पार्टी प्यालेशमा दुईवटा वैवाहिक कार्यक्रमको बूकिङ स्थगित भएको जानकारी गराए । स्थगित हुनुको कारण अन्य बताइए पनि मुख्य कारण भने मिटरब्याजीविरुद्ध कारबाई हुने हल्ला नै भएको उनले दाबी गरे । गाउँघरमा पुरानो चलनको रूपमा रहेको ऋण लेनदेन अहिले रोकिएकाले यसको असर सर्वत्र परेको श्रेष्ठ बताउँछन् ।

गाउँघरका साहुमहाजनहरू ऋण दिएमा आफूहरूविरुद्ध मिटरब्याजीको आरोप लाग्ने र जेलसमेत जानुपर्ने हुनाले लेनदेन कार्य बन्द गरेको बताउँछन् ।

बिहेवारी मात्र होइन घरायसी खर्चको लागि पनि मानिसहरूलाई अहिले समस्या भइरहेको छ । धेरैजसो गरीब साहुमहाजनको ऋणमा आफ्नो दैनिकी चलाउँछन् । कमाउने र ऋण चुक्ता गर्ने क्रम भङ्ग भएपछि उनीहरूलाई समस्या भएको छ । समयमा ज्याला नपाउने र साहुमहाजनले पनि ऋण दिन छाडेपछि गरीबीको रेखामुनि रहेका मानिसहरूको समस्या झनै विकराल बनेको छ । कतिपय गरीब ऋण अभावमा उपचार गराउनबाट पनि वञ्चित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here