म्याक्रोन, हिरोसिमा, ५ जेठ/एएनआई

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों शुक्रवार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियों किशिदाले उनीहरूलाई  हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्कमा) स्वागत गरेका थिए ।

हिरोशिमा पिस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन पत्नी जिल बाइडेनसँगै छन् । त्यसैगरी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोशिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दै छन् । हिरोशिमा पिस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्त ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो । 

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोशिमामा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका हुन् । जी–७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलायत र जर्मनी रहेका छन् । जापानले आफ्नो जी–७ अध्यक्षता अन्तर्गत अस्ट्रेलिया, ब्रजील, कोमोरोस, कुक टापु, भारत, इन्डोनेशिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ ।

जी–७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिङ प्रेसिडेन्सीको क्रममा) र युरोपेली सङ्घका नेताहरूका लागि वार्षिक अन्तर्राष्ट्रिय मञ्च हो । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले हिरोशिमामा हुने जी–७ बैठकमा युरोपेली सङ्घको प्रतिनिधित्व गर्दै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुगे र मे २०–२१ मा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

विश्व राजनीतिका  प्रमुख नेताहरूलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियों किशिदाले आफ्नो सन्देशमा भनेका छन्– “मे १९ देखि २१ सम्म जी–७ शिखर सम्मेलन मेरो गृहनगर हिरोशिमामा हुँदैछ । हिरोशिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो ।”

 “म साँच्चै जी–७ नेताहरूलाई हिरोशिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ,” उनले भने ।

यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियों किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलायती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गरेका थिए । किशिदाले जी–७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका थिए ।

यसैबीच, जी–७ का नेताहरूले शुक्रवार जापानको हिरोशिमास्थित हिरोशिमा शान्ति स्मारक उद्यानमा माल्यार्पण गरेका थिए । उनीहरूले हिरोशिमा पिस मेमोरियल पार्कमा  वृक्षारोपण गरेका थिए । हिरोशिमा मेमोरियलमा माल्यार्पण गरेपछि नेताहरूले सामूहिक तस्बिरसमेत खिचाएका थिए ।

जापानी प्रधानमन्त्री फुमियों किशिदा, युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेल, अमेरिकी राष्ट्रपति जो बाइडेन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र जर्मन चान्सलर ओलाफ स्कोल्ज र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सामूहिक तस्बिर खिचाएका थिए ।

जापानले यसै वर्ष २०२३ मा जी–७ को अध्यक्षता ग्रहण गरेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here