प्रस, सेढवा, ३ जेठ/

बुधवार राति आएको हावाहुरीसँगै परेको वर्षाका कारण चैते धानबालीका साथै अन्य बालीलाई फाइदा पुगेको छ ।

लामो समयपछि पानी पर्दा विभिन्न बालीहरूलाई फाइदा पुगेको किसानहरूले बताए । चैते धानबालीको रोपाइँ भएपछि एकपटक पनि पानी नपरेकोले किसानहरू समस्या खेपिरहेका थिए ।

पानी पर्दा सिंचाइ भएर बाली हुर्कन सहयोग हुने ठोरी गापा–५ क्षेत्रीलाइनका किसान बलराम कोर्मोचाले बताए । धानबालीको साथै अहिले लगाइएका सुर्ती, उखु, मकै तथा विभिन्न प्रकारका तरकारीबालीलाई फाइदा पुगेको कोर्मोचाले बताए ।

जीराभवानी गापा–२ का किसान अमृत चौधरी थारूले हिजो परेको पानीले किसानहरूलाई वर्षेबाली धानखेतीका लागि खेत तैयारी गर्न सहज भएको बताए । लामो समयदेखि पानी नपरेर जमीन सुक्खा भएर कडा भएको थियो । जसले गर्दा खनजोत गर्न निकै समस्या भएको थारूले बताए । हिजो परेको पानीले खेत नरम भएकोले खनजोत गर्न र आलीको सरसफाइ गर्न मदत पुगेको किसान चौधरीले बताए ।

पानी परेपछि अहिले किसानहरूले खेतको आलीको सरसफाइ तथा ट्याक्टरबाट फालीले खेत खनजोत गर्न थालेका छन् ।

वर्षा हुनुअगाडि खेत जोताइ गर्दा धूलैधूलो हुनुका साथै जमीन कडा भएर जोताइ गर्न निकै समय लाग्ने गरेको किसानहरूले बताएका छन् ।

पानीको अभावमा रूखमा रहेका आँप र कटहर झर्दै आएका थिए । तर गएरातिको वर्षाले फल झर्ने क्रम कम हुने किसानहरूले बताए ।

पानी नपरेको धेरै समय बितेको हँुदा ग्रामीण भेगका कच्ची तथा ग्राभेल बाटो धूलाम्य भएका थिए । पानीले शीतल पनि महसूस भएको ग्रामीण बासिन्दाहरूको भनाइ छ । गएराति हावाहुरी आए पनि के कति क्षति पुगेकोबारे सूचना प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here