नितेश कर्ण, वीरगंज, २ जेठ/
भारुको अवमूल्यन जारी रहँदा सीमावर्ती क्षेत्र सर्लाही र आसपासका क्ष्Fेत्रमा भारतीय रुपियाँ लिन बन्द गरिएको छ । केही महीनादेखि भारुको अवमूल्यन हुँदै आएकोमा अहिले यो क्षेत्रमा नेरु १५४ मा भारु एक सयको कारोबार भइरहेको छ । जसले गर्दा स्थानीय व्यापारीहरूले भारु लिन छाडेका छन् ।
यस अघि भारुको मूल्य बढेको र नेरुको अवमूल्यन भएको थियो । नेरु १६६ मा भारु एक सय पाइन्थ्यो । अहिले भारु साबिकभन्दा चार रुपियाँ घटेको छ । पेट्रोलपम्पहरूले सूचना टाँसेर कृपया आइसी पैसा नदिनू भनेर लेखेका छन् । व्यापारीहरूले पनि कारोबारमा भारु लिन छाडेका छन् । वीरगंज क्षेत्रमा चार–पाँच महीनादेखि नै भारुको अवमूल्यन जारी छ । अहिले भारु र नेरुको कारोबार भए पनि व्यापारी तहमा भने रु १५५ मा भारु एक सयको कारोबार हुँदै आएको छ । सामान्यतया बजारमा भने नेपाल राष्ट्र बैंकले तोकेको दररेटमा भारु सटही हुने गरेको छ । केही महीना अघि पर्सा जिल्लामा पनि व्यापारीहरूले भारु लिन छाडेका थिए ।
रु १६० लिएर रु १५५ मा दिनुपर्ने भएकोले पर्सा जिल्लाका थुप्रै ठाउँहरूमा भारु लिन छाडिएको थियो । पेट्रोल पम्पहरूले झनै लिने गरेका थिएनन् । अहिले यहाँ भारु र नेरु तोकिएको दररेटमा सटही भइरहेकोले भारु लिने कार्य शुरू छ ।