प्रस, वीरगंज, १ जेठ/
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नक्कली भूटानी शरणार्थी प्रकरण एमाले सरकारको पालादेखि शुरू भएको बताएका छन् ।
नेपाल प्रेस युनियन, पर्साको १०औं जिल्ला अधिवेशनको सोमवार उद्घाटन गर्दै मन्त्री रिजालले एमाले सरकारमा रहेको बेला नक्कली भूटानी शरणार्थी प्रकरण शुरू भएको र तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), उपप्रधानमन्त्री टोपबहादुर राायमाझी मुछिएको बताए । उनले सोही नाम नलिएर एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रित्वकालमा यो प्रकरण शुरू भएको बताए ।
नक्कली भूटानी शरणार्थीको नाममा भएको भ्रष्टाचार सम्बन्धमा अनुसन्धानमा गठबन्धन सरकारले पूर्णरूपमा सघाउँदै आएको मन्त्री रिजालले दाबी गरे । अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गरेको छैन र गर्दैन पनि, भन्दै उनले भ्रष्टाचारीलाई कारबाई हुने बताए । यही घटनामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा उनका स्वकीय सचिव पक्राउ परेको सन्दर्भमा उनले कुनै चर्चा गरेनन् ।
मन्त्री रिजालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिपरेको दाबी गरे । उनले बन्द सरकारी उद्योगहरू सञ्चालनतर्फ पनि सरकार अग्रसर रहेको बताए ।
उनले कृषि औजार कारखाना सञ्चालनमा आएको र चिनी कारखानालगायत उद्योगहरू पनि सञ्चालनमा आउने बताए ।
नेपाल प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेका, पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्री, अर्का प्रदेशसभा सदस्य श्याम पटेल, नेका पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रेस युनियनका सचिव अशोक तिवारी, मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम, नेका पर्साका सहसचिव नवीन सिंहलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।