चिरञ्जीवी सापकोटा, १ जेठ/

नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्साको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । ट्रेड युनियन काङ्ग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको सभापतित्वमा सम्पन्न अधिवेशनका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले  मजदूरहरूको संरक्षण नेपाली काङ्ग्रेसले नै गरेको बताउँदै आगामी दिनमा पनि नेपाली काङ्ग्रेस ट्रेड युनियन प्रति उत्तिकै जिम्मेवार रहने बताए ।

नेपाललाई सपन्न राष्ट्र बनाउन उद्योगपति र मजदूरबीच सुमधुर सम्बन्ध हुनुपर्ने उनले बताए । कोरोनाकालदेखि नै उद्योग कलकारखानाहरू धराशायी बन्दै गएकोमा नेपाल सरकार गम्भीर भएर लागिपरेको मन्त्री रिजालले बताए । वीरगंज चिनी कारखाना र कृषि औजार कारखानालगायत देशका विभिन्न स्थानमा बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउन प्रारम्भिक कार्य भइरहेकोले भविष्यमा बन्द उद्योग कलकारखानाहरू सञ्चालन हुनेमा आफू विश्वस्त रहेको मन्त्री रिजाले बताए ।

कार्यक्रममा मधेस प्रदेशका सांसद तथा नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दनसिंह क्षत्री, मधेस प्रदेशकै सांसद श्याम पटेल, नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ, संविधानसभा सदस्य शोभाकर पराजुली, जिल्ला उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, नेपाली काङ्ग्रेस पर्साका सचिव तथा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, सहसचिव नवीन सिंह, नेपाल ट्रेड युनियन काङ्ग्रेस मधेस प्रदेशका अध्यक्ष लक्ष्मणप्रसाद कुर्मी, नेपाली काङ्ग्रेस वीरगंज महानगरपालिकाका सभापति मणीन्द्रलाल नेपाली, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव एवं नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाल कारखाना सङ्घका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीलगायत वक्ताहरूले मजदूरहरूलाई राज्यले अपमान गरेको बताउँदै मजदूर हकहितका लागि र उचित पारिश्रमिकको व्यवस्था गरी उनीहरूलाई प्रोत्साहन गर्न सरकारले कन्जुस्याइँ गर्न नहुने बताएका थिए ।

कार्यक्रममा गत स्थानीय निर्वाचन, प्रदेश र सङ्घको निर्वाचनमा निर्वाचित प्रतिनिधिहरूलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य युनियनका उपाध्यक्ष चन्द्रनारायण रिजालले गरेका थिए भने सहजीकरण युनियनका सचिव हरेन्द्र महतोले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here