ओमप्रकाश चौधरी, सेढवा, १ जेठ/
अत्यधिक गर्मी र प्रचण्ड घामका कारण दैनिक पठनपाठनमा नराम्रो असर परेको छ । केही दिनदेखि गर्मी बढेको र हावा नचल्दा उकुसमुकुस भएर विद्यार्थी र शिक्षकहरू कक्षा कोठामा बस्न सकेका छैनन् ।
बिहान शीतल भए पनि टिफिनपछि अर्थात् बिहान १० बजेपछि कक्षा कोठामा बस्दा गर्मी र पसिनाले भिज्ने गरेको विद्यार्थीहरूले बताए । जीराभवानी गाउँपालिका–१ स्थित शिवशक्ति प्रावि, शान्तिनगरका प्रधानाध्यापक रविमोहन सापकोटाले पानी नपर्दा र हावा नचल्दा अत्यधिक गर्मी बढेको जसले गर्दा कक्षा सञ्चालनमा कठिनाइ भएको बताए ।
उनले बिहान ११–१२ पछि घामको कारण समस्या हुने गरेको बताए । प्राथमिक विद्यालयमा अध्ययनरत ससाना बालबालिकाहरू पसिनाले निथु्रक्क भिज्ने गरेको र यसले स्वास्थ्य समस्या निम्त्याउने बताए ।
पटेर्वासुगौली गापा–५ स्थित नेरा मावि निचुटाका प्रधानाध्यापक श्याम घिमिरेले एउटा कक्षामा एक सयभन्दा बढी विद्यार्थीको उपस्थिति भएकाले सहनै नसक्ने गरी उकुसमुकुस गर्मी हुने गरेको बताए । विशेषगरी मध्याह्न १२ बजे विद्यालय बिदा भएपछि गर्मीका कारण फर्कने विद्यार्थीलाई पनि सकस हुने गरेको उनले जानकारी दिए । उनले टाढाबाट आएका विद्यार्थीहरू प्रचण्ड गर्मीमा घर फर्कंदा स्वास्थ्य समस्या हुने गरेको बताए ।
विद्यालयको कक्षाकोठामा पनि पङ्खाको पर्याप्त व्यवस्था छैन । एउटा कक्षा कोठामा दुर्ईवटा पङ्खा अपुग भएकोले यसबारे वडा कार्यालयको ध्यानाकर्षण गराएको र छिट्टै खरीद हुने आश्वासन पाएको बताए ।
ठोरी गापाका प्रमुख लालबहादुर श्रेष्ठले गर्मीका कारण पालिकामा रहेका सामुदायिक विद्यालयहरूको अध्ययन बिहानदेखि शुरू गरेको बताए । बिहानी कक्षा सञ्चालन भएपछि विद्यार्थीहरूले गर्मीबाट केही राहत पाउने उनको बुझाइ छ । उनले सामुदायिक विद्यालयहरूमा गर्मीका कारण पङ्खाको उचित व्यवस्थापन गरेको र अपुग भएका विद्यालयहरूलाई पालिका कार्यालयबाट बुझेर लैजान सुझाए । आफ्नो पालिकामा रहेका सामुदायिक विद्यालयमा अध्यापनको लागि कुनै पनि प्रकारको कमी–कमजोरी नहोस् भनेर आफू सतर्क रहेको र त्यसमा इमानदार पहल रहने उनले दाबी गरे ।
गर्मीका कारण दुईजना छात्रा बेहोस
प्रमोद यादव, पचगावाँ/
पटेर्वासुगौली गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौलीदापमा अध्यनरत दुईजना छात्रा बेहोश भएका छन् ।
कक्षा ८ र १० मा अध्ययनरत अंशुकुमारी र स्नेहाकुमारी सोमवार बिहान ९ बजे बेहोश भएका हुन् ।
छात्राहरू बेहोश भएपछि उनीहरूलाई स्वास्थ चौकी सुगौलीमा उपचारको लागि लगिएको स्वास्थ शाखा प्रमुख भुजेन्द्रप्रसाद यादवले बताए । विद्यालयको छाना जस्ता पाताको रहेको र अत्यधिक गर्मीको कारण उनीहरू बेहोश भएको हुन सक्ने प्रधानाध्यापक रामाशङ्कर प्रसादले बताएका छन् ।