प्रस, वीरगंज, १ जेठ/
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको सराहना गरेका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल पर्साले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो घटनाले देशको शिर निहुरिएको भन्दै सरकारलाई कुनै पनि हालतमा खुट्टा नकमाउन सुझाए ।
अध्यक्ष नेपालले आफ्नो देशको नागरिकको नक्कली पहिचान अगाडि सारेर राजनीतिलाई कमाइ खाने भाँडो बनाएकाहरूलाई कारबाइ हुनुपर्ने माग गरे । उनले यो घटनाले देशको मान, सम्मान, मर्यादामा आँच पुर्याउने काम भएको भन्दै राजनीतिलाई ठगी खाने भाँडो बनाउने सबैलाई राष्ट्रद्रोहको मुद्दा लगाउनुपर्ने बताए । भ्रष्टाचारका सबै घटनामा संलग्नहरू कारबाईको दायरामा आउनुपर्ने उनको भनाइ छ । आफ्नो पार्टी भ्रष्टाचारविरोधी अभियानमा रहेको र सबैखाले विकृति हटाउन अभियानको साथ र सहयोग रहने उनले बताए । उनले मिटरब्याजीको शोषणमा जनता परेको र यसको अब आत्म–समीक्षा हुनुपर्ने बताए ।
समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीलगायतको सहभागिता थियो ।