प्रस, परवानीपुर, ३१ वैशाख/

मधेस–तराईमा लोक सेवा आयोग तर्फ युवा जमातको आकर्षण कमै पाइन्छ ।

यहाँका युवाहरू बिहान १० देखि ५ बजेसम्म निजी जागीर गर्न रुचाउँछन् । तर पछिल्लो समय मधेस प्रदेशका युवाहरू लोक सेवा आयोगप्रति उत्सुक रहेको भेटिएको छ । लोक सेवा आयोगबाट उत्तीर्ण भएर जागीर पाउनेमध्ये एक हुन्, वीरगंज–विन्दवासिनीका राकेशकुमार ठाकुर । उनी पछिल्लो ५ वर्षमा ७ जिल्लाबाट लोक सेवा आयोगको परीक्षा पास गर्दै उच्च तहमा जागीर गरिरहेका छन् । उनी हालै कोशी प्रदेशको सखुवासभा जिल्ला हुलाक कार्यालयमा प्रशासनतर्फ नायब सुब्बाको जागीर गरिरहेका छन् ।

२०७६ सालमा प्लस टु पास गरेसँगै सरकारी जागीरतर्फ हौंसिए । शुरूमा त्रिवि पुलचोक इन्जिनीयरिङ क्याम्पसबाट प्रवेश परीक्षा पास गरी सिभिलतर्फ पढ्न खोजेका थिए तर उनको नाम मेकानिकल इन्जिनीयरिङतर्फ निस्क्यो । उनी मेकानिकल पढन गएनन् । फेरि लोक सेवा आयोगको खरिदार र सुब्बाको तयारीमा जुटे ।

उनका बुवा सामान्य नाइको काम गर्थे । तीन छोरा र दुई छोरीलाई पढाउन पर्याप्त पैसा थिएन । त्यसैले राकेशका जेठा दाजुले सैलुन खोले । माइला दाइ र आफूलाई बुवाले धान बेचेर पढाएको सम्झन्छन् । दाइ रौतहटमा मावि तहमा अङ्ग्रेजी शिक्षक छन् । दुई दिदीको विवाह भइसकेको छ, सुब्बा भएर पनि अधिकृत बन्ने अठोट लिएका छन् । लोक सेवा आयोगको परीक्षा पास गर्न फलामको चिउरा चपाए सरह हुन्छ भन्ने प्रश्नमा उनले भने–“मसँग पैसा थिएन, कोचिङ पनि गरिनँ, सबै तयारी घरमैं गरेको छु, सफलता हात पारें, पढ्ने मानिसले जस्तो पनि सफलता हासिल गर्छ ।”

उनले विगतमा सुर्खेत, सर्लाही, गण्डकी, प्रदेश १ लगायतबाट नाम निकाले पनि केही महीना अघि बल्ल जागिर हात लागेको बताए । यस अघि वैकल्पिकमा नाम आउँथ्यो । लोक सेवा आयोग पास गर्न दृढ सङ्कल्प लिएर अघि बढ्नुपर्छ, जे कुरा पाठ्यक्रममा उल्लेख छ, त्यही कुरा पढे पर्याप्त हुने उनको सुझाव छ । लगनशील भएर दिनको ६ घण्टा पनि राम्ररी अध्ययन गर्दा लोकसेवा अयोग पास गर्न कठिनाइ नहुने उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here