• सुदर्शनराज पाण्डे

देश, काल र परिस्थिति अनुसार जनक्रान्तिको स्वरूप बदलिन्छ ।  राजनीतिक दलहरूद्वारा सञ्चालित क्रान्ति धेरैपटक देखियो, राजनीतिक व्यवस्था बदलियो तर देश र जनताको अवस्था बदलिएन । यतिखेर राजनीतिक र प्रशासनिक पद धारण गरेको कुनै पनि व्यक्ति भ्रष्टाचारबाट पृथक छैन भन्ने अनुभूति हुन थालेको छ । अनैतिक आर्थिक लाभ गर्ने नयाँ राजनीतिक संस्कार र प्रवृत्ति जताततै देशभर देखिएको छ । सामाजिक आर्थिक रूपान्तरणका नाममा मुलुक आर्थिक भ्रष्टाचार र सङ्गठित अपराधमा जेलिंदै गएको छ । राष्ट्र निर्माणको काम छाडेर पहुँचवाल, प्रभावशाली र शक्तिशाली व्यक्तिहरू पद, हैसियत अनुसार ‘लूट कान्छा लूट, अन्त कतै छुट छैन, नेपालमैं छ छुट’ भनेझैं हरतरह, हरप्रकार र हरढङ्गले लुट्नमैं व्यस्त भएर संसदीय राजनीतिक व्यवस्था मात्र होइन, सिङ्गो राज्य संयन्त्रलाई नै असफल बनाएर नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्ने घृणित खेलमा उत्रेको पाइन्छ । योभन्दा गम्भीर खतरा अब के होला ? शासकहरूको राजनीतिको आधार आर्थिक भ्रष्टाचार र विदेशी हस्तक्षेप मात्र हो भन्ने देखिएको छ । अब नेपालीहरू जुट्ने बेला आएको छ । चिन्ता मात्र प्रकट गरेर हुँदैन, राजनीतिक घटना क्रमले असत्य सिवाय सत्यको प्रतिनिधित्व गरेको पाइँदैन । अब यो पार्टी, ऊ पार्टी नभनी देशप्रति वफादार सम्पूर्ण नेपालीहरूले स्वस्फूर्त भ्रष्टाचार, भ्रष्टाचारी, विदेशी हस्तक्षेपविरुद्ध देशभक्तिपूर्ण जनक्रान्ति गर्नुपर्ने बाध्यता आएको छ ।

देशभक्तिपूर्ण एकीकृत जनक्रान्तिका लागि अब ढिलाइ गर्नुहुँदैन । नेपाल नै असफल राष्ट्रको पङ्क्तिमा उभिन पुगेपछि हाम्रो चिन्ता, चासो र पहलको कुनै अर्थ हुँदैन । समयले कसैलाई पर्खंदैन र समयभन्दा बलवान कोही हुँदै पनि । भ्रष्टाचारी र विदेशी दलाल नेपाल र नेपालीका साझा शत्रु हुन् । भ्रष्टाचार र दलाली एउटा खतरनाक प्रवृत्ति हो । नेपाली समाजको यो संस्कार र संस्कृति बनिसकेको छ । भ्रष्टाचारलाई शिष्टाचार भन्न थालिएको छ । भ्रष्टाचार र विदेशी हस्तक्षेपविरुद्ध जनान्दोलन कसरी, कहाँबाट, कसले, कहिले उठाउने भन्ने प्रमुख चिन्ता र चासोको विषय हो । अति ज्यादति र असत्य धेरै दिन टिक्न सक्दैन, यसको अन्त शाश्वत सत्य हो । परिवर्तन प्राकृतिक नियम हो । विनाशकाले विपरीत बुद्धि यथार्थ हो । गन्तव्य शुरू भएको छ–भ्रष्टाचार र राष्ट्रघात, दलालीबाट मुक्त हुन साझा प्रयास, आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको उद्देश्य र लक्ष्य पूरा गर्न बाँकी छ । दुनियाँमा असम्भव केही छैन । यथास्थितिको भ्रष्टाचार र दलालमुखी संसदीय व्यवस्थामा देश र जनता अब टिक्नै नसक्ने अवस्थामा पुगेको छ । सुरक्ष्Fित र संरक्ष्Fित विदेशी दलाल र भ्रष्टाचारको सङ्ख्या निकै थोरै भए पनि उनीहरूको प्रभाव शक्तिशाली छ । अब पार्टी आन्दोलन, व्यक्ति आन्दोलनबाट होइन, राष्ट्र निर्माणको देशभक्तिपूर्ण आन्दोलन जरूरी छ । भ्रष्टाचार र दलालीमुक्त समाज निर्माण गर्न नसकेपछि क्रम भङ्गको आवश्यकता पर्छ । क्रमभङ्ग गर्ने उपयुक्त विधि भनेको देशभक्तिपूर्ण एकीकृत जनक्रान्ति नै हो । यसका लागि वस्तुगत स्थिति निर्माण भइसकेको छ । एकीकृत जनक्रान्तिको पूर्वाधार, कार्यगत एकता र कार्यनीतिको वातावरण निर्माण हुँदै गइरहेको छ । अब हुने एकीकृत जनक्रान्ति निकै कठिन र निर्णायक हुने सम्भावना छ ।

क्रान्तिको सफलताले भ्रष्टाचारी र दलालहरूले उम्कन र भाग्ने ठाउँ पाउने छैनन् । यो कल्पना होइन, सम्भावित वस्तुगत अवस्था हो । सञ्चार माध्यम र शोषित, उत्पीडित, परिवर्तनकामी, देशभक्त नेपाली जनतासँगै भ्रष्टाचारविरुद्ध अभियानमा सीधा कुरा र बहस निरन्तर चलिरहेको छ । नेपाली जनताले अनुभूति गरिसकेको छ । जनताको आत्मनिर्णय हुन मात्र बाँकी छ । जताततै भ्रष्टाचार नै भ्रष्टाचार अनि महँगी, बेरोजगारीले नेपाली जनतालाई भीषण जनयुद्धमा उत्रन उद्वेलित पारेको छ । भ्रष्टाचारी विदेशी दलालका कारण आर्थिक सङ्कट स्थापित हुन खोज्दैछ । संसदीय व्यवस्था मात्र होइन, राज्य संयन्त्र नै भ्रष्टाचारमा डुब्नु योभन्दा ठूलो राष्ट्रिय विडम्बना र असफलता के हुन सक्ला ? नेपाली सिङ्गो समाज नै पतनोन्मुख (downfall society) मा परिणत भएको छ । राजनीतिक समस्याको समाधान राजनीतिक प्रक्रियाबाट मात्र हुन सक्दछ । अहिलेको राजनीतिक प्रक्रिया र कोर्स भनेको संसद्वादको समूल नष्ट गर्न एकीकृत जनक्रान्तिबाहेक अर्को विकल्प तत्कालको लागि बचेको छैन । पटकपटक हामीले भन्नैपर्दछ वर्तमान यथास्थितिको संसदीय व्यवस्था ढाल्नु अनिवार्य छ । अबको देशभक्तिपूर्ण राष्ट्र निर्माणको लागि हुने जनान्दोलन बाध्यता हो, रहर होइन । अन्धकारमय नेपाललाई उज्यालोमय बनाउन तत्काल जनान्दोलन शुरू गर्नुपर्दछ । क्षति नोक्सानी भएपछि कराएर, रोएर, पश्चात्ताप गरेर हात लागे शून्य मात्र हुन्छ । ठोस परिस्थितिमा, विशेष परिस्थितिमा आवश्यक राष्ट्रिय दायित्व पूरा गर्न सम्पूर्ण देशभक्त नेपाली एउटै उद्देश्यका साथ क्रान्तिको मोर्चामा सामेल हुनैपर्दछ । किसान, मजदूर, विद्यार्थी, युवा, महिला, सेना, पुलिस, राजनीतिक दल, सङ्घ–सङ्गठन, विभिन्न व्यक्ति, शक्ति र तत्वको एउटै उद्देश्य र लक्ष्य देशभक्तिपूर्ण जनक्रान्तिमार्फत देश र जनताको रक्षा र उन्नतिको लागि एकीकृत जनक्रान्ति हुनुपर्दछ । काङ्ग्रेस, कम्युनिस्ट, एमाले, मधेसवादी दलबाट अहिलेसम्म भएका जनान्दोलनले सबै एकै ड्याड्ढा मुला, जुन जोगी आए पनि कानै चिरेको, घुमिफिरी रूम्जाटार, कहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने प्रवृत्ति कायमै भएबाट देश, काल, परिस्थिति अनुकूलको स्थायी राजनीतिक व्यवस्थाका लागि नयाँ क्रान्ति गर्नुपर्दछ । अहिलेको राज्य संयन्त्र राजनीतिक व्यवस्थाबाट अब देश र जनताको सुरक्षा नै हुन नसक्ने गरी खराब र कबाड बन्न पुगेको छ । सशक्त जन हस्तक्षेप र जनदबाबबाट खराब प्रवृत्तिका व्यक्तिहरूले चलाइरहेको खराब संसदीय व्यवस्थामा नौ रेक्टर  स्केलको राजनीतिक भूकम्प ल्याएपछि मात्र देश र जनताको अपेक्षा पूरा हुनेछ । वर्तमान भय र त्रासबाट उन्मुक्त हुन एकीकृत जनक्रान्तिबाहेक अर्को विकल्प हुनै सक्दैन । राजनीतिक दुर्घटनाबाट सही ढङ्गले सुरक्षित अवतरण गर्ने माध्यम स्वस्फूर्त, नयाँ ढङ्गले राष्ट्र र समाज निर्माण गर्न देशभक्तिपूर्ण आन्दोलनको आवश्यकतालाई देशप्रेमी, सबै नेपालीले सहयोग र समर्थन गर्न जरूरी छ । संसदीय गलत अभ्यास, गठबन्धन र भागबण्डाको असंसदीय अभ्यासबाट जतिसुकै मरिमेटे पनि नेपाल आमा र नेपाली जनतालाई रुवाउनुबाहेक हँसाउन सकिन्न ।

अहिलेको युग विज्ञान, प्रविधि र भौतिक युग हो । युग बदलिन्छ । नेपालमा यतिखेर सञ्चार माध्यमहरूले यथास्थितिमा परिवर्तनका लागि प्रत्येक दिन प्रत्येक क्षण सूचना क्रान्ति जारी राखेर नेपालीहरूलाई सचेत पार्दै परिवर्तनका लागि सचेत पहल गर्ने मार्ग निर्देशन गरिरहेका छन् । यो अति खुशीको कुरा हो । राजनीतिक दलहरू आफूले नै बनाएको संविधान, नीति, नियम, चुनावी घोषणपत्र उल्लङ्घन गर्दै पद र शक्तिको दुरुपयोग गर्दै मरेको लाश सरह बन्न पुगेका छन् । सबै सञ्चारमाध्यमहरूले सकारात्मक, नकारात्मक सूचनालाई आत्मनिर्णयको अधिकार प्रयोग गर्ने अवसर दिएका राजनीतिक निर्णायक र परिवर्तनका संवाहक भनेका सचेत देशभक्त नागरिक हुन् । भ्रष्टाचारी र दलालहरू नागरिक भए तापनि नेपाली होइनन् । उनीहरूको नेपाली मनमा भावना र राष्ट्रिय दायित्व छैन । चप्पल लगाएर सिंहदरबार घुसेर आमूल परिवर्तनको कुरा गर्नेहरू अनैतिक र पद दुरुपयोगको कमाइबाट टाईसुट र कोट लगाएर दलाल पूँजीपतिमा रूपान्तरित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here