सदाचारविपरीत आचरण तथा ऐन, कानून र नैतिकता तोडेर आफूलाई फाइदा हुनेगरी गरिने क्रियाकलाप भ्रष्टाचार हो । भ्रष्टाचार कुनै पनि समाज र देशको आर्थिक तथा सामाजिक उन्नति, प्रगति र विकासको बाधक हो । वर्तमान समयमा सरकारी, गैरसरकारी, व्यापारिक, शैक्षिक क्षेत्रदेखि समाजको हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाहरू भ्रष्टचाबाट मुक्त हुन नसकेको अवस्था छ । हाम्रो देशमा दिन प्रतिदिन भ्रष्टचारी प्रवृत्ति बढ्दै गइरहेको छ । यति बेला मुलुकमा नक्कली भूटानी शरणार्थी प्रकरण र माओजवादी छापामारको क्यान्टोनमेन्ट भ्रष्टाचार काण्डले निकै प्राथमिकता पाएको छ । जसले लहरो तान्यो, उसलाई पहरो थर्कन्छ भन्ने थाहा नभएर कदम चाल्दा निम्तिएको आपत् हो कि साँच्चीकै भ्रष्टाचारविरुद्ध अभियान हो, त्यो समयले बताउँला । जे होस् एकले अर्को भ्रष्टको अनुहार उदाङ्गो पार्ने क्रम शुरू हुनु राम्रै कुरा हो ।

गराइमा जे भए पनि भनाइमा मात्रै भए पनि खुशीको कुरा वर्तमान सरकारको गृहमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएका छन् । यसमा प्रधानमन्त्री र अन्य दलका नेताहरूले समेत रुन्चे सहमति जनाएका छन् । आँट गर्ने हो भने अनियमितता पाइला–पाइलामा भेटिन्छ । भ्रष्टाचारी, चोर, गुण्डा, बिचौलिया, कमिशनखोर, आर्थिक विकास र सामाजिक विकृति सुधारको मुखुण्डोभित्र लुकेर धर्म, समाज र संस्कृति धमिल्याउने, बिगार्ने र विखण्डन गर्ने तŒवहरूलाई निर्मूल पार्दै धर्म र संस्कृति जोगाउन लागि स्वच्छ वातावरण साथै राजनीतिक इमानदारिता जरुरी हुन्छ । पहाड, तराई र चुरे प्रदेशमा भएका वातावरणीय विकृतिहरू भन्नाले रूख–पात जङ्गलको विनाश, खोलाबाट बालुवा, गिट्टीको दोहनको कारण चुरे र तराईको भूभाग मरुभूमिमा परिणत हुने क्रम जारी छ । यता पनि ठूलो भ्रष्टाचार मौलाइरहेको छ । यस्ता क्रियाकलाप बन्द गरेर प्राकृतिक वातावरणको संरक्षण गर्नु पनि भ्रष्टाचारविरुद्ध अभियान नै हो । विकासको नाममा नेताको स्वार्थ र महत्वकाङ्क्षा पूरा गर्न र जनताको आँखामा छारो हाल्न संवेदनशील पहाड, मैदान कुनै ठोस योजनाबेगर स्काभेटर लगाएर जता पायो त्यतै बाटो बनाउने बहानामा खनेर पहिरैपहिरा निम्त्याएर प्रकृतिको संरचना बिथोल्ने कार्य भइरहेका छन् । यस्ता खाले भ्रष्टाचारले मुलुकलाई दिनानुदिन थिलथिलो पारिरहेको छ । प्रचार कम पाउने भए तापनि यस किसिमका भ्रष्टाचार निवारणतर्फ पनि सरकारको प्राथमिकता रहनुपर्छ ।

मुलुकको आर्थिक अवस्था जरजर हुँदै गइरहेको छ । आर्थिक विकास र समृद्धि, नारा उरालेर तथा आश्वासनको माला जपेर आउँदैन । नारा र आश्वासन राजनीतिक फाइदाको लागि जरूरी होला । केही हदसम्म जनतामा आर्थिक विकासको आस मौलाउला तर व्यावहारिकरूपमा आर्थिक विकास गर्न उपयुक्त भौतिक पूर्वाधार उपलब्ध हुनुपर्छ । लगानी गर्न पर्याप्त वित्तीय कोष र आवश्यक कुशल–अकुशल म्यानपावर उपलब्ध हुनुको साथै देश हाँक्ने नेता, कर्मचारी र व्यापारी वर्ग नैतिकवान्, इमानदार, भ्रष्टाचाररहित भएर देश विकासको प्रतिबद्धता पालना गरे मात्र देशले विकास र समृद्धिको बाटो पहिल्याउन सक्छ । यति बेला मुलुकका मुख्य राजनीतिक दलहरू भ्रष्टाचारको गन्हाउने दलदलमा भासिएर पनि पक्ष विपक्ष बनेर एकले अर्कोलाई नङ्ग्याउने तरखर गर्दैछन् । यसको परिणाम कस्तो होला तर देशका महत्वपूर्ण विषयहरू ओझेलमा पर्ने खतरा भने बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here