प्रस, परवानीपुर, २९ वैशाख/

जन्तीको डिजे गाडी पल्टिंदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बारा, कलैया उपमहानगरपालिका वडा नं १९ इनर्वा गाउँनजीकै डिजेको गाडी पल्टिंदा उक्त दुर्घटना भएको हो ।

गत बुधवार वीरगंज महानगर–२९ मुसैलीबाट महन्त पडितका छोरा कृष्ण पडितको जन्ती कलैया–२२ इनर्वा गाउँ जाने क्रममा राति ९ बजे उक्त घटना भएको थियो ।

डिजे लोड गरिएको ना.४च ३४३२ नम्बरको पिकअप भ्यान पल्टिंदा कलैया–१ घोघणरियाका रामप्रकाश पडितका १७ वर्षीय साहुल पडितको घटनास्थलमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मुसैलीका सोनालाल पडितका १७ वर्षीय छोरा सुरेश पडितको उपचारको क्रममा बिहीवार बिहान २ बजे लक्ष्मणवास्थित एलएसन्यूरो अस्पतालमा मृत्यु भएको परिवारजनले बताएका छन् । सोही घटनामा परी मुसैलीका महावीर पटेल, साहेब मियाँ, सुखारी पडित घाइते भएका थिए ।

मियाँ र पडित उपचार गराइ घर फर्के भने पटेलको टाउको र बायाँ हातमा गम्भीर चोट लागेर अस्पतालमा उपचाररत छन् ।

तीन पल्टन खाएको पिकभ्यानका चालक भाग्न खोज्दा गाउँलेले समातेर जिल्ला प्रहरी कार्यालय, बारालाई बुझाएका थिए ।

अनियन्त्रित भएर गाडी पल्टिएको बुझिएको छ । घटना भएपछि जसोतसो दुलहा–दुलहीको बिहे गराएर जन्ती घर फर्केको भोलिपल्टै दुईजना किशोरको अन्त्येष्टि गरिएको थियो ।

यो घटनाले गर्दा मुसैली र घोघणरिया गाउँ शोकमा परेका छन् ।

मृतक दुवैजनामध्ये एकजना दुवहाको भतिजा र अर्को भान्जा पर्छन् ।

उक्त घटनाले जन्ती परिवार स्तब्ध भएको र मृतक तथा घाइतेहरूको उपचार एवं क्षतिपूर्तिको लागि बाराको प्रहरी प्रशासनसँग पीडित परिवाजनले अपील गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here