ओमप्रकाश चौधरी, सेढवा, २९ वैशाख/

लामो समयदेखि पानी नपरेकोले पर्सेली किसानहरूले लगाएका चैते धानबाली तथा वर्षेबाली धानखेतीका लागि खेत खनजोत गर्न कठिनाइ भएको गुनासो गरेका छन् । पानी नपर्दा वर्षेबाली धानका लागि खेतको खनजोत तथा आलीको सरसफाइ गर्ने कार्यमा किसानहरूले समस्या भोग्नुपरेका छन् । किसानहरूका अनुसार पानी नपरेको आठ महीनाभन्दा बढी भइसकेको अवस्थामा जमीन सुक्खा भएर काम गर्न समस्या भएको छ । जीराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी ध्रुव चौधरीले पानी नपरेकोले जमीन कडा भएर ट्याक्टरबाट जोताइ गर्नसमेत समस्या भएको बताए । सामान्य अवस्थामा एक बिघा खेत फालीले सोमरा (दुईपटक) जोताइ गर्न एक घण्टा १० मिनेट लाग्ने गरेको चौधरीले बताए । तर अहिले एक बिघा जमीन जोताइ गर्न दुर्ईदेखि अढाई घण्टा समय लाग्ने गरेको चौधरीले बताए ।

ग्रामीण भेगका कृषि प्राविधिकहरूका अनुसार अहिले खेतको राम्रोसँग जोताइ गर्दा जमीनमुनि रहेका विभिन्न किसिमका कीरा तथा कीराका अन्डाहरू नष्ट हुने बताए । यसले बालीमा लाग्ने विभिन्न रोगका प्रकोप कम हुने प्राविधिकहरूको भनाइ छ ।

पानी नपरेर यस क्षेत्रमा किसानहरूले लगाएका चैते धानबालीलाई समेत नराम्रोसँग प्रभावित गरेको छ । चैते धानबाली लगाएको करीब डेढ महीना भइसकेको छ । तर वर्षा नहुँदा बालीमा सिंचाइ गर्न समस्या भएको किसानहरूले गुनासो गरेका छन् । एक सातामा दुईपटक दमकलबाट सिंचाइ गर्नुपरेको किसानहरूको भनाइ छ । एक बिघा क्षेत्रफलमा रहेको धानबालीमा एकपटक सिंचाइ गर्दा दुर्ई हजार मूल्यबराबरको इन्धन खर्च हुने गरेको किसानहरूको भनाइ छ । डिजेलको मूल्य अकासिएकोले किसानहरूलाई सिंचाइमा ठूलो खर्च बेहोर्नुपरेको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं ४ का किसान नमीदास थारूका अनुसार चैते धानबालीको रोपाइँ, बीउबिजन, कीटनाशक औषधि र सिंचाइमा लागेको खर्च बालीको उत्पादनबाट उठाउन सक्ने अवस्था नरहेको थारूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here