प्रस, वीरगंज, २८ वैशाख/
नेपाल सरकारले गठन गरेको मिटरब्याजी (अनैतिक लेनदेन) छानबीन आयोगका पदाधिकारीहरूको टोली पर्साको समस्या बुझ्न बिहीवार वीरगंज आइपुगेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको टोलीले वीरगंज महानगरपालिकाको सभाहलमा आयोजना गरेको समस्या समाधान तथा आगामी रणनीतिबारे सरोकारवालाहरूसँग छलफल गरेको थियो । तराईका सबै जिल्लामा मिटरब्याजका प्रकृति र सो समाधान कसरी गर्नेबारे विभिन्न जिल्लामा पुगेर रायसुझाव सङ्कलन गर्ने उद्देश्यले टोली वीरगंज आएको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा सहभागीहरूले मिटरब्याजीका कारण पर्साका धेरै व्यक्तिको उठीबास भएको बताए । मिटरब्याजको समस्या समाधानको लागि सरकारले ल्याएको अध्यादेशले समस्या समाधान हुन्छ कि हुँदैन भन्ने विषयमा आफूहरु सशङ्कित रहेको सहभागीहरूले बताए ।
कार्यक्रममा पीडितहरूको मात्र समस्या सुनिएको तर पीडक भनाउँदा साहुमहाजनको पनि समस्या सुनिदिनुपर्ने सहभागीमध्येका केहीले सुझाएका थिए । एकतर्फी समस्या सुनेर समाधानको बाटो पहिल्याउन नसकिने उनीहरूको जिकिर थियो ।
सहभागीहरूले ब्याजमा पैसा लिनेदिने कार्य सदीयौंदेखि आपसी समझदारीमा हुँदै आएको तर अहिले आएर ऋणीलाई ठग्ने उद्देश्यले मिटर ब्याज र करेन्ट ब्याज साहुहरूले आफैं ल्याएको हुँदा समस्या सिर्जना भएको तर्क गरेका थिए । ऋण लिनु र साँवाको ब्याज दिनु सामान्य कुरा भएको तर सोविपरीत साहुहरूले काम गर्दै आएकाले अहिले समस्या बढेको सहभागीहरूको भनाइ थियो । सहभागीहरूले ऋणीले लेनदेन गर्दा साहुले बनाएको कपाली तमसुक, दिएको खाली चेक तथा दृष्टिबन्ध गरेको जग्गाजमीनलाई अद्यावधि गराउन वडामा पुगी प्रमाणीकरण गराउनुपर्ने माग गरेका थिए ।
साहुहरूले वडामा पुगी लेनदेनका कागजातहरूलाई प्रमाणीकरण गर्दा पूरै विवरणसहित लेनदेनको हरहिसाबको लेखाजोखा राख्दा राज्यले को ब्याजी वा मिटरब्याजी हो सजिलैसँग छुट्याउन सक्ने तथा वास्तविक ब्याजदर पनि प्रस्ट हुने सहभागीहरूले सुझाएका थिए ।
कार्यक्रममा आयोगका सदस्य उत्तम सुवेदी, गणेश अर्याल, वीरगंज महानगर प्रमुख राजेशमान सिंह, पर्सागढी नपाका प्रमुख गोकर्ण पाठक, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, नेपाली काङ्ग्रेसका उपसभापति रामनारायण कुर्मी, मनोज चौधरी, जयप्रकाश थारूलगायतले रायसुझाव तथा समस्याको समाधानबारे आआफ्नो धारणा राखेका थिए ।
- आफू ठगिएको भन्दै मिटरब्याजीपीडितहरूले जिल्ला प्रशासन कार्यालय, पर्सामा दिएको ठाडो उजूरी सङ्ख्या ७५ तथा जिल्ला प्रहरी कार्यालय, पर्सामा तीनवटा गरी ७८ वटा मिटरब्याजीविरुद्ध उजूरी परेको छ । यसमध्ये १२ वटा निवेदनमाथि छलफल गराइ टुङ्गो लगाएको, ४९ वटा उजूरी अदालत क्ष्Fेत्राधिकारभित्र पर्ने भएकाले अदालतमा नै पठाएको, १३ जना सम्पर्कविहीन भएका तथा अन्य निवेदनहरू बाँकी रहेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । नेपाल सरकारले निर्देशन गरे अनुसार जिल्ला प्रशासन कार्यालय, पर्साले मिटरब्याजीपीडितहरूको हकमा सार्वजनिक सूचना निकाल्दा १८० वटा उजूरी परेको प्रजिअ रेग्मीले उनले बताए ।
- मिटरब्याजीको दुःखेसो
पर्साको सखुवाप्रसौनी गाउँपालिका महुवन निवासी इन्द्रा मोक्तानका पतिले स्थानीय राजदेव कलवारसँग रु एक लाख ऋण लिएर संयुक्तरूपमा माटोको कारोबार गरेकोमा घाटा लागेपछि सबै पैसा तिर्नुपर्छ भन्दै कलवारले तीन लाखको कागज गराएको बताइन् । एक लाखमध्ये ५० हजार तिरे पनि लकडाउनको बेला सात लाख ब्याज पुगेको भन्दै कलवारले १४ लाखको कपाली गराएको मोक्तानले बताइन् । उनले कलवारले तीन कट्ठा जग्गा पनि लिएको बताइन् । दैनिक घरमा कुटपिट गर्न आउँछ । सम्पत्ति भनेको एक सुको छैन । बाँकी रहेको ५० हजार ऋणबापत कलवारले अहिले २० लाख माग गरिरहेको आयोगसमक्ष उनले दुःखेको पोखिन् ।
आफू घरमा रहेको बेला स्कूटीसमेत खोसेर लगेको र प्रहरीसँग सहायता माग्दा उल्टै प्रहरीले आफूलाई प्रताडित गरिरहेको उनले जानकारी गराइन् ।