प्रस, परवानीपुर, २७ वैशाख/

वीरगंज महानगर–२७ उदयपुर घुर्मीको जसौली, घुर्मी, कोहडी, हरपतगंज, सुगौलीसम्म आउने सडकको कालोपत्र काम केही महीनादेखि ठप्प भएको छ ।

ठेकेदारको लापरवाहीका कारण पाँच किलोमिटर लम्बाइको उक्त सडकको निर्माण कार्य हुन नसकेको स्थानीय शिक्षक शम्भुप्रसाद यादवले बताए । पूर्वनगरप्रमुख विजय सरावगीको पालादेखि नै उक्त सडक निर्माणको ठेक्का भएको तर हालसम्म निर्माण सम्पन्न नहुँदा सो क्ष्Fेत्रका जनता सास्ती भोग्न बाध्य छन् ।

वैशाखको अन्तिम साता चलिरहँदा वर्षा आयो भने सो सडक भएर आउजाउ गर्ने हजारौं जनता मर्का पर्ने भन्दै गाउँलेहरू चिन्तित छन् ।

उक्त सडक भएर बगही, दरदरवा, रामपुर–जसौली, सौराहा, कोहडी, घुर्मी, हरपतगंज, अपौनी, सुगौलीलगायतका जनता आउजाउ गर्छन् ।

सो सडक निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्शनका प्रबन्ध निर्देशक सुमित रौनियारले सडक निर्माणको क्रममा केही ठाउँमा साइट क्लियर नभएको र बजेट पनि पर्याप्त नहुँदा काम रोकिएको बताए । उनले पेटी कन्ट्र्याक्ट लिएका ठेकेदारले  विवाद उत्पन्न गर्दा पनि काम सम्पन्न नभएको बताए ।

प्रबन्ध निर्देशक रौनियारले वीरगंजका पूर्वप्रमुख सरावगीको पालामा १७ ठाउँमा सडक (५२ किलोमिटर) निर्माणका लागि रु ८५ करोडमा ठेक्का लिएको बताए । तर अहिले सघन शहरी तथा भवन निर्माण कार्यालयसँग साढे तीन करोड बक्यौता लिनुपर्ने भएकोले बजेट अभावमा काम नभएको बताए ।

उक्त सडकको नियामक निकाय सघन शहरी तथा भवन निर्माण कार्यालय, वीरगंजका प्रमुख विनोद सिंहले एक सातापछि काम शुरू हुने बताए । म भर्खरै सरुवा भएर आएको छु, उक्त सडक निर्माणको लागि ठेकेदार पक्षसँग छलफल गरी काम अघि बढाउने निर्देशन दिइसकेको छु, चाँडै काम हुन्छ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here