कोही किन लिन्छन् नेपाली नागरिकता ? वास्तविक नेपालीले नेपाली नागरिकता मुख्यतः दुई कारणले लिने गरेका छन् । पहिलो कारण आफ्नो मुलुकप्रतिको आत्मसम्मान तथा गर्वानुभूति, दोस्रो कारण बाध्यता । जो जहाँ जन्मे, हुर्के, बढे उसलाई त्यहीं भूमि, त्यहींको समाज र त्यहींको समग्र वातावरण प्यारो लाग्छ । त्यसैले उसको सोही स्थानसँग जोडिएर परिचय बनेको हुन्छ । नागरिकता वा कुनै परिचय कार्ड औपचारिकता मात्रै हुन् । औपचारिकता पूरा भएको होस् वा नभएको होस्, उनको भावना जन्मदेखि नै जोडिएर आएको हुन्छ । जन्मसँग जोडिएको भावनालाई कुनै पनि कारणले टुक्रयाइन्छ भने त्यहाँ भावविह्लता हुन्छ । को कहाँ जन्मन्छन्, शिशुको दोष होइन । पृथ्वी कसैको होइन, सबैको हो । जन्मँदा स्पर्श गर्न पाएको भूमि नै उसको भूमि हो । यो अधिकारबाट वञ्चित गरिनु प्राकृतिक न्यायविपरीत हो । अमेरिकालगायत विश्वका धेरै मुलुकले आफ्नो देशमा जन्मेका शिशुलाई त्यहाँको नागरिक मान्छ । अधिकांश नेपाली जन्मको भावना जोडिएको कारण मुलुकप्रति गौरवान्वित हुँदै नेपालको नागरिकता लिन चाहन्छन् । दोस्रो कारण भने बाध्यता हो । जेसुकै काम गर्न नागरिकता पेश गर्नुपर्ने र अन्य मुलुकमा गएर स्थायी घरबास बनाउन नसक्ने र यहीं थच्चिनुपर्ने बाध्यताका कारण नागरिकता लिन विवश हुन्छन् । उनीहरू मौका पाए नेपालको नागरिकता त्याग्न बेर लाउँदैनन् ।
झूटो विवरण पेश गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई काठमाडौंबाट हालै प्रहरीले पक्राउ ग¥यो । अवसरको खोजीमा कैंयन नेपाली विदेश पलाएन भइरहेको अवस्थामा विदेशी नागरिकले नेपाली नागरिकता किन लिइरहेका छन् त ? यसरी नेपाली नागरिकता लिन चाहनेहरू मुख्यतः भारतका देखिएका छन् । भुटान, चीन, बङ्गालदेश, पाकिस्तान, वर्मालगायतका मुलुकका नागरिकले पनि नेपाली नागरिकता लिने प्रयास गरेका घटनाहरू आक्कलझुक्कल प्रकाशमा आएका छन् ।
नेपाली नागरिकता लिन चाहनुका कारणहरू विभिन्न छन् । राजनीतिकः राजनीतिक दाउपेचमा हाम्रो मुलुकका नागरिकभन्दा भारतीय नागरिकहरू चतुर हुन्छन् । हाम्रा ठूला भनिएका नेताहरूको पनि राजनीतिक पाठशाला भारत हो । नेपालमा राजनीतिक भविष्य देखेका र राजनीति गर्न धनसम्पत्ति टन्न भएका केही भारतीयहरूले नेपाली नागरिकता लिने प्रयास बेला बखत गरेका पाइन्छन् । नेपाल–भारतबीच पारिवारिक सम्बन्ध छ । चुनावमा एक/एक मतको महत्व हुने हुँदा कतिपय हाम्रा नेताहरूले भारततर्फका आफन्तजनको नाम मतदाता सूचीमा चढाउन नागरिकता बनाइदिन्छन् । अपराध कर्मः नेपाली नागरिकको रूपमा कारोबार गर्ने र निश्चित बिन्दुमा पुगेपछि धोखा दिएर फरार हुने, अन्य मुलुकमा अपराध गरी हाम्रो मुलुकमा सुरक्षित हुने र अन्य मुलुकमा अपराध गर्नका लागि नेपाली रन–वे प्रयोग गर्ने उद्देश्यका साथ नागरिकता लिन चाहनेहरू पनि छन् । मन पराएरः कतिपय विदेशीको साथीसङ्गत नेपालमा रहेका र उसलाई यही देश मन परेकाले । वैदेशिक रोजगारः छिमेकी मुलुकहरूभन्दा धेरै देशमा नेपालले श्रम स्वीकृति प्राप्त गरेको हुँदा वैदेशिक रोजगारमा जानका लागि पनि नेपाली नागरिकता बनाउन चाहनेहरू छन् । त्यसैगरी, उद्यम, व्यवसाय सञ्चालन गर्न चाहनेहरूले आफ्नो वा आफन्तको नेपाली नागरिकता बनाउने प्रयास गरेका छन् ।