प्रस, वीरगंज, १६ वैशाख/
पर्साको धोबिनी गाउँपालिमामा कार्यरत स्वास्थ्यकर्मीलाई राजनीतिक दलका अगुवाहरूले दुव्र्यवहार गरेपछि हिजोदेखि स्वास्थ्य सेवा ठप्प भएको छ ।
स्वास्थ्य सेवा ठप्प भएपछि सेवाग्राहीहरू मारमा परेका छन् ।
राजनीतिक दलका अगुवाहरूले कर्मचारीहरूलाई गालीगलौज गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।
प्रदेश सरकारले आधुनिक प्रयोगशाला सञ्चालनको लागि दिएको करोडौं मूल्यबराबरका उपकरणहरू जडान भएको महीना दिन बितिसकेको छ । औपचारिकरूपमा मात्र प्रयोगशाला सञ्चालनको प्रतीक्षामा रहेको बेला गएको शुक्रवार उद्घाटन तय भएको थियो । गापाध्यक्ष मदन चौहानले प्रयोगशालाको उद्घाटनसमेत गरेका थिए । कार्यक्रम सम्पन्न हुने बित्तिकै नेपाली काङ्ग्रेसतर्फबाट मनोनीत कार्यपालिका सदस्य दिनेश कलवारले लङ्गडी स्वास्थ्य चौकीमा पुगी काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई अभद्र व्यवहार गरेपछि विवाद शुरू भएको थियो ।
गापा कार्यालयमा तालाबन्दी भएको बेला प्रयोगशाला किन उद्घाटन गरेको भन्दै कर्मचारीहरूलाई कलवारले गालीगलौज गरेको स्वास्थ्य चौकी इन्चार्ज मन्नु पटेलले बताए । पटेलले प्रदेश सरकारले दिनका दिन ताकेता गरेपछि आफूले सरोकारवालासहित सबै राजनीतिक दलका नेताहरूलाई कार्यक्रममा सहभागिताको लागि पत्राचार गरेको बताए । आमन्त्रित सबै आए पनि काङ्ग्रेसका नेताहरू सहभागी नभएको उनले बताए ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रलाई राजनीतीकरण गर्न खोजिएपछि गाउँमा चर्को आलोचना शुरू भएको छ । सार्वजनिकरूपमा गाली गर्ने नेताहरूले माफी नमागेसम्म स्वास्थ्य सेवा बन्द राखी कर्मचारीहरू अहिले आन्दोलनमा उत्रेका छन् ।