काठमाडौं, १५ वैशाख/रासस

एसिसी मेन्स प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि बिहान ९ बजेदेखि शुरू हुनेछ ।

नेपाल समूह चरणको अन्तिम खेलमा हिजो कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेशियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

त्यस्तै, नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’मा रहेको कुवेतले हिजै भएको समूह चरणको अन्तिम खेलमा हड्ढङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

भोलि नै हुने अर्काे सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’को उपविजेता ओमानले समूह ‘बी’को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुर्ई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here