मुलुकका तीनवटा निर्वाचन क्षेत्रमा हालै प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भयो। उपनिर्वाचनले धेरै अपत्यारिला परिणाम नदिए पनि सोचनीय परिणाम दिएको छ। चुनावमा आफ्नो साख जोगाउनका लागि पनि नेपाली काङ्ग्रेस, रास्वपा र जसपाले एक/एक सिट जित्नै पर्ने थियो। रवि लामिछानेको क्षेत्र, नेकाको तर्फबाट राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र र उपराष्ट्रपतिमा जसपाबाट निर्वाचित रासहायप्रसाद यादवको क्षेत्रमा उपनिर्वाचन भएको हो। जितेका उम्मेदवारलाई उपल्लो ओहोदामा स्तरोन्नति गरेर ठाउँ खाली गराएको कारण पनि तनहुँबाट काङ्ग्रेस र बाराबाट जसपाले जित्नै पर्ने बाध्यता थियो। चितवनका रविलाई भने नागरिकता प्रकरणले सांसद पद खारेज भएपछि र भर्खरै सङ्गठित दल भएको हुँदा त्यस प्रकरणले उसलाई फाइदा, बेफाइदा के हुन्छ भन्नेबारे यकीन थिएन। आमनिर्वाचनदेखि उपनिर्वाचनसम्म आइपुग्दा रास्वपाको शक्ति एवं जनविश्वास स्खलित भइसकेको अनुमान लगाउनेहरू पनि थिए। त्यसैले रवि पराजित नै भएपनि अचम्म मान्ने अवस्था थिएन।
मुलुकको ठूलो र सत्तारूढ दल काङ्ग्रेसले साख जोगाउन सकेन। तनहुँको हार नेपाली काङ्ग्रेसको मात्र हार नभई सत्ताको हार हो। नवनिर्वाचित राष्ट्रपतिको क्षेत्र र सत्तारूढ पाँच दलका साझा उम्मेदवार थिए गोविन्द भट्टराई। तनहुँमा नेकाको हाइकमान्डका साथै प्रधानमन्त्री प्रचण्डदेखि गठबन्धनका चारजना पूर्वप्रधानमन्त्रीहरूसमेत डा स्वर्णिम वाग्लेविरुद्ध एकजुट थिए। यसको च्याँखे दाउमा एमाले थियो। वाग्लेको जीतमा उनको व्यक्तित्वले ठूलो भूमिका खेलेको छ। योग्यता र क्षमता अनुसार नेकाले भूमिका नदिएपछि उनी रास्वपामा गएका हुन्। वाग्लेले नेकाबाट टिकट पाएको भएपनि जित्ने रहेछ भन्ने देखियो। ४ मङ्सिरको चुनावमा तनहुँ १ मा काङ्ग्रेसले समानुपातिकतर्फ २० हजार १५८ मत पाएको थियो। उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। उपनिर्वाचनमा काङ्ग्रेसका पूर्व जिल्ला पदाधिकारी, युवा, नेता र असन्तुष्ट पक्षहरू वाग्लेका साथमा थिए। यसका साथै वाग्लेको व्यक्तित्वबाट प्रभावित मत उनी जता गए पनि पाउँथे।
चितवनमा रविलाई सहानुभूतिको मत बढ्यो। उनलाई जुन चाहनाका साथ चितवनवासीले मत दिएका थिए, सोही अनुरूप केही गर्छु भन्दाभन्दै उनको पद गयो। पद जानुमा पनि कुनै चित्तबुझ्दो कारण मतदाताले देखेनन् र रविप्रति मतदाताको झुकाव झन् बढ्यो। रविलाई सर्वसाधारण मतदातासँग प्रत्यक्ष गराउने ठूलो भूमिका सञ्चारमाध्यम र सामाजिक सञ्जालको छ। मङ्सिर ४ को चुनावमा उनलाई नचिनेका मतदाताले पनि उपचुनावसम्म आइपुग्दा चिने। अर्को के पनि हो भने ठूला तथा पुराना दलहरूको विकल्प खोजिरहेका स्वतन्त्र मतदाताले विकल्पको रूपमा रास्वपा पाए। बारामा अलि फरक प–यो। यहाँ परिवर्तनका पक्षधर मत विभाजित भए। रास्वपा, जनमत र आम जनता पार्टी, तीनतर्फ मत जाँदा सत्ता गठबन्धनलाई फाइदा भयो। महत्वपूर्ण कुरा, रास्वपाले जनचाहना अनुसारको उम्मेदवार दिन सक्यो। रवि र वाग्ले उम्मेदवार नभए परिणाम फरक हुन सक्थ्यो। “दलको नाममा जो उठे पनि जितिन्छ भन्ने कुरालाई अब मतदाताले स्वीकार्दैनन्, पुराना दलहरूको व्यवहारबाट नागरिक वाक्क छन्, हिजोसम्म पार्टी कार्यकर्ताको रूपमा रहेका मतदाता अब वास्तविक मतदाताको भूमिकामा आउन थालेका छन्,” भन्ने सन्देश उपनिर्वाचनले दिएको छ।