– सञ्जय मित्र

हरेक कर्मशील मानिसले आफ्नो कर्म गरिरहेको हुन्छ। अझ कतिपय मानिसको त निश्चित जिम्मेवारी हुन्छ। निश्चित जिम्मेवारी कसरी वा कुन तरीकाले निर्वाह गर्ने भन्ने कुरो तिनीमाथि नै निर्भर हुन्छ। विश्वका धेरै देशमा काम गर्ने वा गराउने तरीका यस्तो छ कि निश्चित कामका लागि निश्चित रकम र निश्चित प्रक्रिया तोकिएको हुन्छ। हो, हामीले बुझेको सामान्य ठेक्काजस्तो। ठेक्काका लागि पनि कामका शर्त र प्रक्रिया निर्धारण गरिएको हुन्छ र समयमा काम गर्नुपर्ने हुन्छ। त्यसरी नै कतिपय देशमा र कतिपय सरकारी नोकरीमा पनि कामको प्रकृति हेरी सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। अझ कहींकहीं कामको लागि सम्झौता गर्नुपर्ने पनि हुन्छ। यसलाई कतैकतै कार्यसम्पादन सम्झौता पनि भनिएको पाइन्छ। कार्यसम्पादन सम्झौता गरिएको वा गराइएको हुन्छ। यसले कति समयमा कति काम र कसरीभन्दा पनि कुन गुणस्तरको हुने भन्ने स्पष्ट गरेको हुन्छ। यसैगरी, कार्यसम्पादन सम्झौताले कामको परिणाम खोज्छ। अर्थात् कामको नतीजाले नै काम भएको वा नभएको देखाउँछ। यसरी विभिन्न प्रकृतिले कामसित सम्बन्धित जिम्मेवारी वा कर्तव्यबोध गराउने किसिमका चलन रहेका छन्, जसले कामलाई मात्र महत्व दिएको हुँदैन, कामलाई महत्व दिंदादिंदै पनि अन्य पक्षलाई पनि समेटेको हुन्छ।

एक सामान्य मजदूरले पनि धनीको अपेक्षा अनुसार काम गरेन भने फेरि काममा लगाउँदैन। हरेक दिन विदेश गइरहेका हजारौं नेपाली जहाँ पुग्छन्, त्यहाँ उपलब्धिपूर्ण काम गर्दैनन् वा सन्तोषजनक कार्य सम्पन्न गर्दैनन् भने रोजगारमा राखिंदैन। विद्यार्थीले पनि यदि कक्षामा कम्तीमा पास हुने नम्बर ल्याउँदैन भने उसको कक्षोन्नति हुँदैन। पूजा गराउने पुजारीले यदि यजमानको चित्त बुझ्नेगरी पूजा गराउँदैनन् भने पारिश्रमिक कम दिन्छन्, समयमा दिंदैनन् वा अर्कोपटकदेखि पूजा गर्न बोलाउँदैनन्। यसरी काम लगाउनेले कामबाट आफूलाई हुने आम्दानी आकलन गरेको हुन्छ, विचार गरेको हुन्छ। अहिलेसम्म काममा जानेले कामको प्रकृति तथा ज्यालाबारे विचार गरेका हुन्छन् तर यससित सम्बन्धित अन्य दुई पक्ष रहेका छन्, स्वास्थ्य र सुरक्षा।

मलेशियामा एकजनाले बेकरी उद्योगमा काम पाएका थिए। हरेक महीना समयमैं तलब पाउँथे। हरेक दिन दुई/चार घण्टा वा चाहेमा अझ एक/दुई घण्टा बढी काम गर्ने अवसर थियो, जसलाई ओभरटाइम भन्थे। काम गर्दा ओभरटाइमसहितको रकम महीना मर्नासाथ दिने हुँदा ज्याला पाउने दिन खुशी हुन्थे। ज्याला पाएपछि हुने खुशीले सबै दुःख बिर्सन्थे। दुःख कस्तो थियो भने आगोनजीक काम गर्नुपथ्र्यो। शुरूको एक/दुई महीना त काम गर्ने कि फर्केर जाने व मर्नेजस्तो भएको थियो रे। कहिल्यै त्यति तातोमा काम गर्ने बानी नभएको, घरको गरीब नै भएपनि सुकुमार, बुबाआमाको प्यारो छोरोले जीउ पोल्ने, डढाउने तथा अत्यन्त डर लागिरहने ठाउँमा काम गर्नुपर्दा निकै मन रुन्थ्यो तर विकल्प थिएन। काम नगरी हुँदैन र कामको प्रकृति नै त्यस्तै भएपछि जतिसुकै जोखिम मोलेर पनि काम गरिरहे। दुई महीनामा नै उसको हात र खुट्टामा ठाउँठाउँमा घाउ निस्क्यो। आगोले पोलेको घाउमा लगाउन बेकरी उद्योगले नै मलम दिन्थ्यो तर गर्मी ठाउँ भएको तथा यता त्यसभन्दा पहिले कहिल्यै काम नगरेको हुनाले समस्या विकराल थियो। त्यहाँ चार वर्ष काम गरे। चार वर्षमा गाउँमा करीब डेढ बिघा खेत पनि किने। खेत किनेपछि अब जग्गाबाटै पेट पाल्न सकिन्छ भन्ने लागेपछि फर्केर घर आए। घर आएपछि दुई महीना बिरामी परे। बिरामी पर्नुको कारण भने विपरीत वातावरण थियो। पूरै सुक्खा ठाउँमा पाउरोटी सेक्ने काम गरिरहेको र जीउ सधैं पोल्नेगरी कामको प्रकृतिविपरीत ठन्डीको महीनामा घर आउँदा वातावरणीय समस्या परेको थियो।

माथिको एउटा उदाहरण मात्र हो। यस्ता वा यसभन्दा कठिन वा निकै सजिलो कामको प्रकृति हेरी अवस्था भिन्न हुन सक्छ। अहिले पनि हरेक दिन परदेशबाट केही लाश आइरहेको भनिन्छ। परदेशमा कामको सिलसिलामा हुने जोखिमलाई माथिको उदाहरणले पनि पुष्टि गर्छ। पैसाको मोह एकातिर र स्वास्थ्यको जोखिम अर्कोतिर हुने कामहरू हुन्छन्। काममा सुरक्षाको लागि व्यवस्था पनि गरिएको हुन्छ तर कतिपय काममा सुरक्षाको प्रकृति फरक हुन्छ। आणविक भट्टीहरूमा पनि त मजदूर काम गरिरहेका हुन्छन्। एक्स–रे मेशिन चलाउनेले पनि काम गरिरहेको हुन्छ। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर पनि मानिस मरेको खबर सुनिन्छ। पहाडमा गोठालो जाँदा, जङ्गली जनावर र भीरबाट लड्ने जोखिम हुन्छ तर यस्तो जोखिम सम्बन्धितलाई मात्र थाहा हुन्छ। कामको जोखिमबारे जानकारी नहुँदा भने समस्या आइलाग्छ। समस्या कहिलेकाहीं गम्भीर पनि हुन सक्छ। केही महीना पहिले सर्लाहीमा एकजनाको, रूखबाट स्याउला झार्ने क्रममा लडेर मृत्यु भएको थियो।

सामान्यतया काममा सुरक्षा हुुनुपर्छ भन्ने हो। सुरक्षाका लागि काम दिने व्यक्ति वा संस्था तथा काम गर्ने व्यक्ति दुवैले ध्यान दिनुपर्ने हुन्छ। बिजुलीको काम गर्ने मानिसले अरूले दिएको सुरक्षाभन्दा आफू स्वयम् सतर्क र सुरक्षित रहन बढी ध्यान केन्द्रित हुनुपर्ने हुन्छ। सुरक्षाको सवालमा सदैव दुवै पक्ष गम्भीर हुनैपर्छ। यदि धूलो वा धूवाँयुक्त ठाउँमा काममा कसैलाई लगाउनु छ भने धनीले धूलो र धूवाँबाट जोगाउने साधनको व्यवस्था कामदारको लागि गरिदिनुपर्छ। यसैगरी, सम्भव भएसम्म कसरी कम धूलो र धूवाँ होस् भनेर ध्यान दिनुपर्छ र कामदारले पनि धनीमाथि मात्र निर्भर नरही कसरी हुन्छ धूलो र धूवाँको प्रभावबाट जोगिन सकिन्छ भनेर आफैंले हरसम्भव प्रयास गर्नु उचित हुन्छ। यसरी काम गर्ने ठाउँमा सुरक्षा हुन्छ र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ। बज्जिका भाषामा एउटा उखान छ– रहिहन जीउ त खइहन घिउ आ नरहिहन जीउ त कथि खइहन घिउ। यस उखानले पनि स्वास्थ्य र सुरक्षाप्रति गम्भीर हुनुपर्ने बताउँछ। जीउ रहे घ्यू खाइन्छ तर जीउ नै रहेन भने कसले घ्यू खाने ?

अहिले अनेक नियम तथा कानून निर्माण भइसकेका छन् तर कार्यान्वयन पक्ष भने कमजोर छ। काम दिने प्रतिष्ठानले जहिले पनि आफ्नो हित बढी चाहेको हुन्छ। कामदारले पनि आफ्नो हित नचाहने होइन। दुवैको हित हुने बीचको बाटो निकाल्दा पनि, स्वास्थ्य र सुरक्षाको सवाल भने रहिरहन्छ। असुरक्षित तरीकाले काम गर्नुहुन्न। आफ्नै खेतमा विद्युतीय मोटरले पानी पटाउने क्रममा मानिसहरूले ज्यान गुमाउने गरेको खबर पनि आउने गरेको छ। घरैमा पनि करेन्ट लागेर मानिस मरेका वा घाइते भएका खबरहरू आइरहन्छन्। हो, अरूले काममा लगाउँदा मात्र स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले सतर्क रहनुपर्छ भन्ने होइन, हरेक समय र नितान्त आफ्नै काममा स्वास्थ्य र सुरक्षा दुवै दृष्टिले विचार गर्नैपर्ने हुन्छ। स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील नहुने हो भने कुनै पनि काम लामो समयसम्म गरिरहन मुश्किल हुन्छ। अर्को अर्थमा जुन उद्देश्य लिएर काम गरिएको हो, प्रत्युत्पादक हुन सक्ने सम्भावना रहन्छ। समुदाय तथा राज्यले पनि कामको प्रकृति हेरी त्यसमा स्वास्थ्य र सुरक्षाको सवालबारे राम्ररी विचार गरिदिनुपर्ने हुन्छ। कुनै उद्योग लगाउँदा उद्योगको फोहोर वा दुर्गन्धले नजीकको बस्तीलाई प्रभावित पार्दछ भने त्यस बस्तीमा मानिसले त्यस उद्योगमा काम पाउँदा पनि घाटा नै छ। यस कारण यस्ता उद्योगहरूलाई सम्भव भएसम्म बस्तीदेखि टाढा नै लगाउनु उचित हुन्छ। यसरी काममा सुरक्षा र स्वास्थ्यको मुद्दालाई सदैव विचार गर्नु सर्वथा उचित देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here