नेपालमा रहेको आशङ्का गरिएका भारतीय पृथकतावादी नेता अमृतपाल सिंह भारतबाटै पक्राउ परेका छन् । ‘वारिस पञ्जाब दे’ सङ्गठनमार्फत स्वतन्त्र पञ्जाब तथा खालिस्तान राज्यको माग गर्दै अभियानमा जुटेका सिंह आइतवार बिहान पञ्जाबबाटै पक्राउ परेका हुन् । उनी १८ मार्च अर्थात् बितेको एक महीनादेखि फरार थिए । पृथकतावादी सशस्त्र गतिविधि सञ्चालन गरेको सिंहमाथि भारत सरकारको आरोप छ । गत महीना फेब्रुअरीमा अमृतसरबाहिरको एक प्रहरी कार्यालयमा एउटा भीडले तोडफोड मच्चाएपछि सिंहको चर्चा शुरू भएको हो । त्यस बेला उनकै समर्थकले प्रहरी चौकीमा तोडफोड गरेका थिए । घरेलु हतियार तरबारसहित आक्रमणकारीहरूले प्रहरी चौकीमा धावा बोलेका थिए । अमृतपालका प्रमुख सहयोगी तथा अपहरण मुद्दामा पक्राउ परेका लभप्रीत सिंहलाई छुटाउन पुगेका सिंहका समर्थकहरूले चौकीमा आक्रमण गरेका थिए । उक्त  घटनालगत्तै अमृतपालले पञ्जाब राज्य टुक्राउने र ‘खालिस्तान’ देश बनाउने लक्ष्यका लागि सरकारविरुद्ध सशस्त्र विद्रोहका लागि आह्वान गरे । त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्न खोज्यो । बाक्लै सुरक्षाकर्मीको बीचबाट चमत्कारिकरूपमा घेरा तोड्दै फरार भएका अमृतपालको चर्चा झन् चुलियो ।

अमृतपाल सिंहका सहयोगीहरूबाट ठूलो मात्रामा अवैध हतियारहरू बरामद भएपछि उनीविरुद्ध हतियार ऐन अन्तर्गत मुद्दाहरू दर्ता भएका छन् । उनले पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआई र विदेशमा रहेका केही आतङ्कवादी समूहसँग सम्बन्ध राख्दै आएको भारतीय सुरक्षा अधिकारीको आरोप छ । स्वतन्त्र खालिस्तान राज्यको माग विगतदेखि नै हुँदै आएको होे । यसको पक्षमा सशस्त्र विद्रोह पनि भएको थियो । सन् १९८० दशकको अन्तिम र ९० को दशकको शुरूमा खालिस्तान पृथकतावादी आन्दोलन निकै चर्किएको थियो । त्यति बेला भारतीय सुरक्षा निकायले शिख समुदायको पवित्र पूजास्थल स्वर्णमन्दिरमा गरेको सुरक्षा कारबाईमा शिख पृथकतावादी नेता जर्नेल सिंह भिन्द्रनवाले मारिएका थिए । यस क्रममा कैंयनले ज्यान गुमाएका थिए । सरकारको दमनपछि भारतभित्र उनीहरूको गतिविधि थिएन । भारतबाहिर विभिन्न देशमा बसेर पृथकतावादी आन्दोलनको समर्थन गर्नेहरू भने छन् । हाल बेलायतमा रहेका अवतार सिंह खन्डा पनि सोमध्येका एक हुन् । भारत सरकारले पृथकतावादी आतङ्ककारीको सूचीमा राखेको खन्डाको नजीकका व्यक्ति र जर्नेल भिन्द्रनवालेको समर्थकको रूपमा अमृतपाललाई हेरेको छ ।

करीब ५० हजार सुरक्षाकर्मी परिचालन गर्दा पनि अमृतपाल पक्राउ पर्न नसकेपछि उनी नेपालमा लुकेको भारतीय सुरक्षा निकायले दाबी गर्यो । अमृतपाल नेपालमैं रहेको भन्दै उनको खोजीका लागि भारतीय इन्टेलिजेन्स ब्युरोको टोली नेपाल आएको थियो । भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी र अध्यागमन विभागलाई ध्यानाकर्षण पनि गरायो । यसले नेपालको सुरक्षा संयन्त्रलाई भने निकै चुनौती महसूस भएको थियो । हुनत यसअघि भारतका मोस्ट वान्टेड विकास दुबेलगायत पनि नेपाल प्रवेश गरेको हल्ला चल्यो । यसरी हल्ला चलाइएका र आशङ्का गरिएका धेरैजना भारतमैं पक्राउ पर्ने गरेका छन् । केही भने नेपालमा पनि पक्राउ पर्नु अस्वाभाविक होइन । तर आफ्नो अक्षमता लुकाउन नेपालतर्फ औंला ठड््याइदिन भारतीय गुप्तचर निकायहरू खप्पिस देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here