प्रस, पोखरिया, १० वैशाख/
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले आगामी आवदेखि वडास्तरबाटै शिक्षा र स्वास्थ्यको लागि ३० प्रतिशत बजेट विनियोजन गर्न वडाध्यक्षहरूलाई निर्देशन दिएका छन् ।
‘समयमैं भर्ना, समयमैं ज्ञान : गुणस्तरीय शिक्षा पोखरिया नगरपालिकाको अभियान’ नाराका साथ आइतवार पोखरियामा आयोजित विद्यालय भर्नासम्बन्धी गोष्ठीमा नगरप्रमुख चौहानले विद्यालय र स्वास्थ्य सेवा प्रभावकारी बनाउन वडास्तरीय बजेटको ३० प्रतिशत विनियोजन गर्न निर्देशन दिए । उनले शिक्षा नै समाज उन्नतिको प्रमुख माध्यम भएको भन्दै यसको विकासमा पोखरिया नपाले कञ्जुस्याइँ नगर्ने बताए । उनले विद्यालय भर्ना अभियानलाई सशक्त र प्रभावकारी पार्ने प्रमुख कारक विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू भएकाले उनीहरूले यो कार्यलाई महत्वका साथ अगाडि बढाउनुपर्ने बताए ।
विद्यालयबाहिर रहेका उमेर समूहका सबैलाई विद्यालयमा भर्ना गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा पहिलो दायित्व प्रअ र शिक्षकहरूको भएपनि त्यसमा सबैको सहकार्य हुने र नपाले पनि हातेमालो गर्ने बताए । उनले शैक्षिक क्षेत्रको समस्या समाधानका लागि नपाले कार्य गर्दै आएको र अस्थायी शिक्षक भएका ठाउँमा यो शैक्षिक सत्रदेखि स्थायी शिक्षक पठाउने बताए ।
नगरप्रमुख चौहानले विद्यालय सञ्चालन भएका बखत विभिन्न बहानामा शिक्षकहरू नपा कार्यालयमा धाउने गरेकामा आपत्ति जनाए । उनले पहिलो प्राथमिकता कक्षा सञ्चालन गर्ने र त्यसपछिको समयमा यस्ता कामहरूलाई प्राथमिकता दिनुपर्नेमा ज्ञापनपत्र, डेलिगेशन, ध्यानाकर्षणजस्ता कुराहरूलाई लिएर अधिकांश शिक्षक नपा कार्यालयमा केन्द्रित हुने गरेकामा अब यस्तो कार्य नगर्न उनले चेतावनी दिए । उनले शिक्षकहरू राजनीतिक गतिविधिमा लागेका कारण पनि विद्यालयको शैक्षिक स्तरोन्नति नभएको आरोप लगाए ।
गोष्ठीमा शिक्षक विनोद गिरी, पारस ठाकुर, शुभलाल साह, अनिल गिरी, लालबहादुर चौहान, आसमान नेपालका धर्मेन्द्र चौरसियालगायतले पोखरिया नपामा रहेका सामुदायिक विद्यालयहरूको अवस्था दयनीय रहेका र पूर्वाधार विकासमा नपाले ध्यान दिनुपर्ने सुझाव दिए । उनीहरूले विद्यालयको भौतिक संरचना निर्माण, शौचालयको सरसफाइ, फर्निचर र प्रविधिमैत्री शिक्षामा नपाको सहयोग हुनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा पोखरिया नपाका अधिकृत अजय श्रीवास्तव, शिक्षा शाखा प्रमुख विजय झा, वडाध्यक्षहरू नौशाद आलम, प्रमोद गिरी, लक्ष्मण साह कानूलगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको सहजीकरण लक्ष्मण खवासले गरेका थिए ।