प्रस, वीरगंज, ८ वैशाख/
वीरगंजस्थित नारायणी रङ्गशालामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सम्पन्न भएको छ ।
हिजोदेखि सञ्चालन भएको प्रतियोगितामा आज एथलेटिक्स तथा कबड्डीमा महिला तथा पुरुषको खेल सम्पन्न भए । प्रतियोगितामा वीरगंज महानगरपालिका १६ वटा स्वर्ण, ठोरी गापा १० वटा स्वर्ण र बहुदरमाई गापा एउटा स्वर्ण ल्याइ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
जिल्ला खेलकूद विकास समिति, पर्साको आयोजनामा विद्यालयस्तरदेखि गापा, नपा तथा महानगरपालिकाका टीमहरू सहभागी थिए । तेक्वान्दो प्रशिक्षक तथा जिल्ला खेलकूद विकास समिति, पर्साका कार्यालय प्रमुख विजय शाह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वीमनपाका उपप्रमुख इम्तियाज आलम, ठोरी गापाका शिक्षा तथा खेलकूद शाखा प्रमुख भुपाल जोशी, तेक्वान्दो प्रशिक्षक नाजिर हुसेन, एथलेटिक्सका मुख्य निर्णायक विश्वेश्वर पटेल, पाँचवटै स्थानीय तहका खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको वीरगंज महानगरपालिकालाई नगद १५ हजार, दोस्रो ठोरी गापालाई १० हजार र तेस्रो बहुदरमाई नपालाई पाँच हजार नगदसहित शिल्ड, मेडल प्रदान गरिएको थियो ।