सियोल, ८ वैशाख/सिन्ह्वा
दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महीना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रवार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
उत्पादक मूल्य सूचकाङ्क (पिपिआई) एक महीनाअघिको मार्चमा ०.१ प्रतिशतले बढेको थियो भने फेबु्रअरीमा ०.२ प्रतिशत र जनवरीमा ०.४ प्रतिशतले बढेको बैंक अफ कोरिया (बिओके)ले जनाएको छ ।
कोभिड–१९ महामारीविरुद्ध विभिन्न किसिमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले भोजनालय र आवास सेवाका क्षेत्रमा उच्च मूल्यमा आपूर्तिकर्ताहरूबीचको सेवा मूल्य गत महीना ०.१ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
यसैगरी, महँगा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०.२ प्रतिशतले बढेको पनि बताइएको छ ।
यद्यपि कृषि, पशुपालन र माछापालन उत्पादनहरूको मूल्य ०.९ प्रतिशतले घटेका छन् ।
बिजुली, प्राकृतिक ग्याँस र धाराको पानीको उत्पादक मूल्य एक महीनाअघिको तुलनामा मार्चमा ०.४ प्रतिशतले घटेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । रासस